आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पतालको एनआईसीयू स्टोरमा आगलागी, मानवीय क्षति हुनबाट जोगियो

Avatar photo दिशा निर्देश ३१ भाद्र २०८२, मंगलवार ११:२१ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रसूति गृह भवनमा रहेको एनआईसीयू (नवजात शिशु कक्ष) को स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ। बिहान करिब ४ बजे तेस्रो तल्लामा रहेको स्टोर कोठामा अचानक आगो लागेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

उनका अनुसार आगलागीबाट स्टोर कोठामा राखिएका सबै सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। यद्यपि, आगलागीका क्रममा कुनै मानवीय क्षति नभएको स्पष्ट गरिएको छ।

अग्निनियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र खटाईएको थियो। समयमै नियन्त्रणमा लिन सकिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टसर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यसबारे थप अध्ययन तथा क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ।


सम्बन्धित खबरहरु