आज:  | Wed, 22, Apr, 2026

जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलमा नेतृत्व परिवर्तनको बहस

Avatar photo दिशा निर्देश ३० भाद्र २०८२, सोमबार ०९:५६ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। जेनजी पुस्ताको आन्दोलनपछि मुलुकका ठूला राजनीतिक दलदेखि मधेस केन्द्रित दलसम्म नेतृत्व परिवर्तनको माग उठ्न थालेको छ। पुराना अनुहारलाई अस्वीकार गर्ने जनस्तरको सन्देशपछि मधेसका दलभित्र पनि पुस्तान्तरणको आवश्यकता तीव्र रूपमा छलफलमा आएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव १८ वर्षदेखि लगातार अध्यक्ष छन्। २०५४ सालमा मधेसी जनअधिकार फोरम स्थापना भएदेखि अहिलेको जसपा नेपालसम्म यादवकै नेतृत्व कायम छ। पटक–पटक नेतृत्व परिवर्तनको आवाज उठे पनि उनी अध्यक्षमै रहँदै आएका छन्।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पनि २०६४ सालमा पार्टी गठन भएदेखि हालसम्म नेतृत्वमा छन्। ८३ वर्षीय ठाकुरले यस अवधिमा एक पटक मात्र महाधिवेशन गरेका छन्।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि लामो समयदेखि पार्टी नेतृत्वमै रहेका छन्। सद्भावना पार्टीदेखि हालको राष्ट्रिय मुक्ति पार्टीसम्म उनले निरन्तर नेतृत्व सम्हालेका छन्।

यी नेताहरू लामो समयदेखि नेतृत्वमा रहँदा पार्टीभित्रै आलोचना चुलिएको छ। जसपाका महासचिव रामकुमार शर्मा र लोसपाका उपाध्यक्ष जितेन्द्र सोनललगायत युवा नेताहरूले संविधान वा विधानमै उमेर हद र कार्यकाल तोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झाले भने पुराना नेताहरू ‘आउटडेटेड’ भइसकेको भन्दै उनीहरूले स्वेच्छाले नेतृत्व हस्तान्तरण नगरे आगामी चुनावमा दलहरूको अवस्था गम्भीर हुने चेतावनी दिएका छन्।

त्यसैगरी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीमा पनि विवाद बढ्दै गएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठसँग असहमति जनाउँदै रेशम चौधरीले छुट्टै ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गर्ने घोषणा गरेका छन्।

यसैबीच, अनिल झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेर पुनः अध्यक्ष बनेका छन्।

जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई नयाँ पुस्तालाई नेतृत्व दिने दबाब बढाएको छ भने पुराना नेताहरू भने अझै कुर्सी समात्नै तत्पर देखिएका छन्।


सम्बन्धित खबरहरु