काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११:३० बजे हुने तय भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन जनालाई सरकारमा समेटेकी हुन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृहमन्त्रीसँगै कानुन मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मा दिइएको छ। पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार रहेका थिए।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंसहित देशभर प्रदर्शन गरेका थिए। आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।
ओलीको राजीनामापछि गत शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
