आज:  | Tue, 21, Apr, 2026

आईडिया नेपालको सचिवमा वीरगञ्जका इन्टेरियर डिजाइनर सुशोभित रंजितकार निर्वाचित

Avatar photo दिशा निर्देश २२ भाद्र २०८२, आईतवार १७:५४ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आईडिया नेपाल) को २२औँ साधारण सभाबाट वीरगञ्जका इन्टेरियर आर्किटेक्ट इञ्जिनियर सुशोभित रंजितकार सचिवमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारण सभाले श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमति चयन गरेको हो ।

रेड पेपर डिजाइनर्स प्रा.लि.का प्रबन्ध निर्देशकसमेत रहेका रंजितकार यसअघि संघको १९औँ साधारण सभाबाट सदस्य निर्वाचित भएका थिए । यसपटक सचिव पदमा निर्वाचित भएपछि उनले इन्टेरियर डिजाइन व्यवसायलाई संस्थागत बनाउन, नयाँ पुस्तालाई प्रोत्साहन गर्न तथा पेशागत क्षेत्रमा वीरगञ्जको प्रतिनिधित्व बलियो बनाउन योगदान दिने बताएका छन् ।

वीरगञ्जको माईस्थान निवासी रंजितकार सुमन कुमार रंजितकार र मुना रंजितकारका छोरा हुन् । उनले वीरगञ्जकै ज्ञानज्योती स्कुलबाट प्लस–टु सकेर काठमाडौँमा आईईसी कलेज अफ आर्ट एण्ड फेशनमा इन्टेरियर आर्किटेक्चर अध्ययन गरेका थिए । २०७० सालमा स्नातक सकेपछि उनले रेड पेपर डिजाइनर्समार्फत पेशागत यात्रा सुरु गरेका हुन् ।

भारतको प्रख्यात क्याफे कफी डे को काठमाडौं शाखाको इन्टेरियर डिजाइनबाट आफ्नो करियर सुरु गरेका रंजितकारले अहिलेसम्म महिन्द्राको अग्नि ग्रुप, किंग्स लन्ज, ओम सिमेन्ट, प्यासिफिक इन्टरप्राइजेज लगायतका ठूला परियोजनामा काम गरिसकेका छन् । उनले देशभर एक सयभन्दा बढी परियोजनामा संलग्न रहेर छोटो समयमा इन्टेरियर आर्किटेक्चर क्षेत्रमा अनुभव बटुलेका छन् ।

संघीय राजधानी काठमाडौंमा पेशागत करिअर जमाए पनि पछिल्ला वर्षमा रंजितकार वीरगञ्जमै बढी सक्रिय भएका छन् । यहाँका होटल, रेस्टुरेन्ट, कार्यालयदेखि आवासीय घरसमेतमा उनले इन्टेरियर डिजाइन गरेका छन् । यसैमार्फत उनले वीरगञ्जमै इन्टेरियर आर्किटेक्चरको सम्भावना र माग बढ्दै गएको प्रमाणित गरेका छन् ।

नवनिर्वाचित सचिव रंजितकारले इन्टेरियर डिजाइनलाई शैक्षिक रूपमा वीरगञ्जमै उपलब्ध गराउने प्रयास गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।


सम्बन्धित खबरहरु