काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल भएको हो ।
गएको भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीमा तेस्रो मिर्गौला प्रत्यारोपण गरिएको र उपचारपश्चात् हिजो उहाँलाई डिस्चार्ज गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
डा. श्रेष्ठका अनुसार सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि दीर्घकालीन रूपमा काम गर्ने गर्छ । तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथी जस्ता कारणले मिर्गौला असफल हुन सक्ने भएकाले दोस्रो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । तर तेस्रोपटक प्रत्यारोपण गर्नु अत्यन्तै दुर्लभ र चुनौतीपूर्ण हुने उनले उल्लेख गर्नुभयो ।
“प्राविधिक जटिलता, औषधीय चुनौती, दाता पाउन गाह्रो हुने तथा जोखिम झन् बढी हुने भएकाले विश्वमै पनि तेस्रोपटक मिर्गौला प्रत्यारोपण हुने विरामी संख्या निकै सीमित छ,” डा. श्रेष्ठले भन्नुभयो ।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो । दोस्रो प्रत्यारोपण भने सन् २०७२ मा नेपालमै डा. श्रेष्ठकै नेतृत्वमा सम्पन्न भएको थियो । हालै भएको तेस्रो प्रत्यारोपणसमेत श्रेष्ठकै टोलीले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमै सम्पन्न गरेको हो ।
नेपालमा दोस्रो मिर्गौला प्रत्यारोपणको सुरुवात वीर अस्पतालमा सन् २०१० मा डा. श्रेष्ठकै नेतृत्वमा भएको थियो । तेस्रो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु यस क्षेत्रमा अभूतपूर्व उपलब्धि भएको केन्द्रले जनाएको छ ।
