आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज भन्सारमा दर्जा नखुलेका ५० भन्दा बढी कर्मचारी कार्यरत

Avatar photo दिशा निर्देश १७ भाद्र २०८२, मंगलवार १५:२० मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत अधिकांश कर्मचारीको दर्जा र शाखा स्पष्ट नखुलाइएको पाइएको छ। लामो समयदेखि कार्यालयमा विभिन्न शाखामा काम गर्दै आएका सयौँ कर्मचारीमध्ये थोरै मात्रको विवरण आधिकारिक वेबसाइटमा देखिन्छ।

कार्यालयको वेबसाइटअनुसार, हाल एकजना सहसचिव प्रमुख भन्सार प्रशासक, तीनजना उपसचिव दर्जाका अधिकृत, १४ जना भन्सार अधिकृत, तीनजना कम्प्युटर अधिकृत, एकजना लेखा अधिकृत र एकजना केमिस्ट कार्यरत छन्। तर, ३० जना सुब्बाको दरबन्दी र ५० भन्दा बढी विनादर्जा कर्मचारीहरूको नाम, दर्जा र शाखा भने उल्लेख गरिएको छैन।

भन्सारभित्रैका कर्मचारीहरूका अनुसार, सुब्बा र सहयोगी वर्गका कर्मचारीहरूको विवरण प्रस्ट्याइएन भनेकै कारणले पारदर्शिता नदेखिएको हो। भन्सार कार्यालयको तथ्यांकले खरिदारभन्दा तल्लो तहका ५० भन्दा बढी कर्मचारी नामसहितै नखुलेर काम गरिरहेको पुष्टि गर्छ।

स्रोतका दाबीअनुसार, धेरैजसो करार र दैनिक ज्यालादारीमा नियुक्त कर्मचारीहरू उच्च पदस्थ अधिकृतका निकटस्थ हुन्छन्। सरुवा भएर आउने अधिकृतले आफ्नो सुविधा र स्वार्थअनुसार कर्मचारी खटाउने, शाखा तोक्ने र गोपनीयताका नाममा आफ्नै मान्छे राख्ने गरेको आरोप छ।

भन्सारभित्र कर्मचारी व्यवस्थापनमा देखिएको यस अस्पष्टताले “कसको मान्छे कहाँ” भन्ने चलन झन् बलियो बनाएको स्रोत बताउँछन्। राजनीतिक पहुँच भएका अधिकृत तहका कर्मचारीहरूले नातागोता र निकटस्थलाई प्राथमिकता दिने प्रवृत्तिले तल्लो तहमा अझै बढी अनियमितता भएको देखिन्छ।


सम्बन्धित खबरहरु