आज:  | Sun, 19, Apr, 2026

वीरगञ्जमा हैजाको प्रकोप नियन्त्रणमा चुनौति कारण अझै पत्ता लागेन

Avatar photo दिशा निर्देश १६ भाद्र २०८२, सोमबार ०९:४६ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। पर्सामा भदौ ५ गते पहिलोपटक पुष्टि भएको हैजाको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म वीरगञ्ज महानगरपालिका मात्रमा १६९ जनामा हैजा पुष्टि भइसकेको छ। तीमध्ये १२० जना निको भएर घर फर्किएका छन् भने ४९ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।

यस्तै, पोखरिया नगरपालिकामा १६ जना संक्रमित फेला परेसँगै पर्साभर संक्रमितको संख्या १८५ पुगेको हो। स्वास्थ्य कार्यालयले शनिबार रातिदेखि आइतबार बिहान १० बजेसम्म मात्रै ३१ जना नयाँ बिरामी थपिएको जनाएको छ।

संक्रमण फैलिएको अवस्थामा गृहमन्त्री रमेश लेखक शनिबार पर्सा पुगे। उनले वीरगञ्जका अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्दै महामारी नियन्त्रणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको मेडिकल जनशक्ति समेत परिचालन गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेल र कांग्रेस महामन्त्री गगन थापा पनि बिरामीको अवस्थाबारे जानकारी लिन वीरगञ्ज पुगेका थिए।

संक्रमण समुदायस्तरमै फैलिएकाले वीरगञ्ज महानगरका विद्यालय एक सातादेखि बन्द भएका छन्। महानगर स्वास्थ्य शाखाका अधिकृत राजुप्रसाद साहका अनुसार मंगलबारसम्म विद्यालय बन्द रहने र यो अवधिमा सरसफाइ तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।

साउन २८ गते वीरगञ्जमा झाडापखालाका बिरामी देखिन थालेका थिए। भदौ ५ गते परीक्षणपछि हैजा पुष्टि भएको हो। झाडापखालाका कारण तीन जनाको मृत्यु भइसकेको छ भने हालसम्म ८२१ बिरामी अस्पताल पुगेका छन्। तीमध्ये ६२२ जना निको भइसकेका छन् भने १९९ जनाको उपचार भइरहेको छ।

हैजा पानीजन्य रोग मानिए पनि नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वास्तविक कारण पत्ता लाग्न सकेको छैन।

स्वास्थ्य अधिकृत साहका अनुसार, बिरामी बढिरहेको भए पनि धेरैको अवस्था सामान्य छ। सरकारले केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्दै नियन्त्रण प्रयासलाई तीव्रता दिएको छ। उनले सरसफाइमा ध्यान दिनु, उमालेको पानी पिउनु, काँचो तरकारी र बासी खाना नखानु सबैभन्दा प्रभावकारी उपाय भएको बताए।

पर्सासँगै बाराको कलैयामा पनि एक जनामा हैजा पुष्टि भएपछि छिमेकी जिल्लामा त्रास बढेको छ। तर स्वास्थ्य कार्यालय पर्साका प्रवक्ता ठकुरीका अनुसार अहिले लकडाउनजस्तो कडा कदम आवश्यक नपरेको भन्दै व्यक्तिगत सावधानी नै प्रमुख उपाय रहेको स्पष्ट पारे।


सम्बन्धित खबरहरु