काठमाण्डौ । चाडपर्व सुरू भएसँगै अण्डाको माग तीव्र रूपमा बढेको छ। उत्पादन घटेपछि माग आपूर्ति असन्तुलन भएको र त्यससँगै मूल्य समेत बढेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुने नयाँ मूल्यअनुसार ठूलो अण्डाको प्रतिक्रेट (३० वटा) ५४५ रुपैयाँ र मझौला अण्डाको प्रतिक्रेट ५३० रुपैयाँ कायम गरिएको छ। खुद्रा बजारमा प्रतिगोटा मूल्य २३ रुपैयाँ तोकिएको छ।
नेपालमा अहिले अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ। नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८ रुपैयाँ १६ पैसा पाउने भएका छन्। लामो समयसम्म लागत मूल्यसमेत नपाएका किसानले यसलाई राहतको रूपमा लिएका छन्।
अध्यक्ष पोखरेलका अनुसार यसवर्ष साउन महिनामा पनि अण्डाको माग घटेन। माग बढ्दै गएकाले मूल्य अझै बढ्ने संकेत देखिएको छ। तर विगतमा भोगेको ठूलो नोक्सानीका कारण धेरै किसान विस्थापित भइसकेका छन् भने अझै पनि कुखुरा पालिरहेका किसान संकटमै छन्।
नेपाल अण्डा उत्पादक सङ्घका पूर्व अध्यक्ष त्रिलोचन कँडेलका अनुसार विगतमा दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गर्थ्यो भने अहिले उत्पादन घटेर करिब २२ लाखमा झरेको छ।
