आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा संक्रमण घट्दो, झाडापखालाका बिरामी भने बढ्दै

Avatar photo दिशा निर्देश ११ भाद्र २०८२, बुधबार ०९:१८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। वीरगञ्जमा हैजाको संक्रमण पुष्टि हुने बिरामीको संख्या क्रमशः घट्दै गएको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आइतबार २९ जनामा संक्रमण देखिएकोमा सोमबार २२ र मंगलबार २१ जनामा मात्र हैजा पुष्टि भएको हो।

जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार गत शुक्रबारदेखि मंगलबार साँझ ६ बजेसम्म वीरगञ्जमा कुल ११४ जनामा हैजा पुष्टि भएको छ। विभिन्न अस्पतालमा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत संक्रमण पुष्टि गरिएको उनले जानकारी दिए।

अस्पतालवार विवरण अनुसार नारायणी अस्पतालमा सबैभन्दा धेरै ४३, तराई हस्पिटलमा ३८, नेशनल मेडिकल कलेजमा १५, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम् प्याथोलोजीमा तीन–तीन, अलि अर्थो र एडभान्स मेडिकेयर हस्पिटलमा दुई–दुई तथा नारायणी सेन्ट्रल, नेपाल इन्डो, नीलकण्ठ, सर्वोत्तम र नेपाल मेडिसिटी बयोधा अस्पतालमा एक–एक जनामा संक्रमण भेटिएको छ।

तर हैजा घट्दै गए पनि झाडापखालाका बिरामीको संख्या भने उतारचढावसहित बढ्दो क्रममा छ। मंगलबार मात्रै ९३ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्, जुन सोमबारको ६२ भन्दा उल्लेख्य बढी हो। गत शुक्रबारदेखि मंगलबारसम्म वीरगञ्जमा झाडापखालाबाट प्रभावित हुनेको संख्या ४२२ पुगेको छ। तीमध्ये २२३ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने मंगलबार मात्र ५२ जना डिस्चार्ज भएका छन्। हाल विभिन्न अस्पतालमा १९९ जना उपचाररत छन्, जसमा ३१ जना आईसीयूमा रहेका छन्।

संक्रमण नियन्त्रणमा आउँदै गरेको भए पनि सतर्कता अझै आवश्यक रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए। उनका अनुसार स्वच्छता र सावधानी अपनाए मात्रै संक्रमणको दरलाई थप घटाउन सकिन्छ। यता, वीरगञ्ज महानगरपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गर्दै रोग नियन्त्रणका विभिन्न प्रयास अघि बढाइरहेको छ। जोखिम बढ्न नदिन शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ भने सडक छेउछाउमा हुने स्ट्रिट फुड (पानीपुरी, चाट, भजा आदि) बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ।


सम्बन्धित खबरहरु