आज:  | Tue, 21, Apr, 2026

हैजा प्रभावित वीरगञ्जमा स्वास्थ्य मन्त्री पौडेलद्वारा अनुगमन, उपचारमा लापरवाही नगर्न निर्देशन

Avatar photo दिशा निर्देश ९ भाद्र २०८२, सोमबार १६:४० मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार नारायणी अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था, औषधि आपूर्ति, सेवा प्रवाह, तथा उपचारमा देखिएका चुनौतीहरूको बारेमा जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा अस्पतालका एक स्वास्थ्यकर्मीले सलाइन र इन्जेक्सनजस्ता सामग्रीहरू निःशुल्क भए पनि केही अन्य औषधिका लागि शुल्क लाग्न सक्ने जानकारी गराएका थिए ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म वीरगञ्जमा ७९ जना हैजाका संक्रमित बिरामी फेला परिसकेका छन् । आइतबार रातिसम्म ७१ संक्रमित थिए भने सोमबार विहान थप ८ जना थपिएका हुन् । ती नयाँ संक्रमित कुन अस्पतालमा परीक्षण गरिएका हुन् भन्ने विवरण भने खुल्न बाँकी रहेको छ ।

अनुगमनपछि मन्त्री पौडेलले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, स्वास्थ्य कार्यालयका अधिकारीहरू र अन्य सरोकारवालासँग हैजा नियन्त्रणका लागि भइरहेका प्रयासहरू जानकारी लिँदै व्यवस्थापन र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

हाल हैजा नियन्त्रणका लागि स्थानीयदेखि संघीय तहसम्मको समन्वयमा प्रभावित क्षेत्रमा पिउने पानीको शुद्धीकरण, घरदैलो जनचेतना कार्यक्रम, र उपचार सेवाको सुदृढीकरण भइरहेको छ ।


सम्बन्धित खबरहरु