काठमाडौं । जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला-मुक्त देशको रूपमा घोषणा भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा, विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) का प्रतिनिधिहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
यो उपलब्धिसँगै नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला उन्मूलन गर्न सफल छैटौं राष्ट्र बनेको छ। WHO का अनुसार, नेपालले २०८२ साल भदौ २ गतेदेखि रुबेला रोग नियन्त्रणमा सफलता पाएको हो।
मन्त्री पौडेलले यो ऐतिहासिक उपलब्धि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए। उनले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न र अन्य रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ निरन्तर काम गर्न सबैलाई आह्वान गरे। मन्त्रीका अनुसार, “यो सफलता स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आम नागरिकको अटुट समर्पणको प्रतिफल हो।”
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले रुबेला उन्मूलनपछि अबको प्राथमिक लक्ष्य दादुरा रोग नियन्त्रण हुने बताएका छन्। उनले भने, “दादुरा छिटो फैलिने रोग हो। यसको निगरानी प्रणाली बलियो बनाएर नियन्त्रण गर्न सके, त्यस प्रणालीलाई अन्य रोगको नियन्त्रणमा उदाहरणीय बनाउन सकिन्छ।”
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो उपलब्धि सम्भव भएको बताए। उनले नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि यो उपलब्धि महत्वपूर्ण कोशेढुङ्गा भएको भन्दै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।
नेपालका लागि WHO का प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले सरकार र साझेदारहरूको प्रयासको प्रशंसा गर्दै यो उपलब्धि नेपालका लागि गर्वको क्षण भएको बताए। उनले उच्च खोप कवरेज, बलियो निगरानी प्रणाली र द्रुत प्रतिकार्य प्रणालीको संयोजनले यो सफलता सम्भव भएकोमा जोड दिए।
