आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा नियन्त्रणका लागि ‘एकद्वार नीति’ लागू, औषधि वितरणमा सतर्कता

Avatar photo दिशा निर्देश ९ भाद्र २०८२, सोमबार १३:२५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज।  वीरगञ्जमा हैजा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा औषधि तथा सामग्री वितरण एकद्वार नीतिबाट मात्र गर्न निर्देशन दिएका छन् । उनले हैजालाई हौवा बनाएर व्यापार नगर्न सबै पक्षलाई आग्रहसमेत गरे ।

निजी अस्पतालहरूले परीक्षणका नाममा किट बिक्री गर्ने प्रयास देखिएको भन्दै प्रमुख सिंहले सरकारले नै किट निशुल्क उपलब्ध गराउने स्पष्ट पारे ।

महानगरमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग विचारविमर्श गर्दै सिंहले हैजा नियन्त्रणका सबै कार्यलाई एकीकृत ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले उपचारका लागि सरकारी स्वास्थ्य संस्थालाई नै केन्द्र बनाउनुपर्ने बताए । उनले निजी स्वास्थ्य संस्थाले पनि झाडापखाला सम्बन्धी रोगको उपचारमा समान मापदण्ड अपनाउनुपर्ने धारणा राखे । मन्त्रालयको टोलीले महानगरको समन्वयमा निजी अस्पतालहरूको अनुगमन गर्ने र आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी भएको जानकारी दिइयो ।

यस्तै, स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले एकपटक हैजाको पुष्टि भएपछि त्यस्तै लक्षण भएका सबै बिरामीको पुनः परीक्षण आवश्यक नहुने स्पष्ट पारे । “बारम्बार परीक्षण गर्नुभन्दा सीधा उपचारमा ध्यान दिनुपर्छ,” भन्दै उनले स्वास्थ्यकर्मीलाई उपचारलाई प्राथमिकता दिन आग्रह गरे ।

यसबीच, स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगञ्ज आउने कार्यक्रम रहेको छ । उनी दिउँसो २ बजे नारायणी अस्पताल पुगेर अवलोकन गर्ने र त्यसपछि महानगर तथा सरोकारवालासँग हैजा नियन्त्रणबारे छलफल गर्ने तय गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगञ्जमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचार गतिविधि नजिकबाट अनुगमन गरिरहेको छ ।


सम्बन्धित खबरहरु