आज:  | Tue, 21, Apr, 2026

ढिला नगरी अस्पताल जानुहोस्, हैजा निको हुन्छ : डा.निरज सिंह

Avatar photo दिशा निर्देश ९ भाद्र २०८२, सोमबार ०९:३८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले हैजा उपचार गर्न सकिने रोग भएको भन्दै ढिला नगरी तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्। उनका अनुसार पखाला वा बान्ता देखिनेबित्तिकै घरमै बसिराख्ने होइन, नजिकैको स्वास्थ्य संस्थामा पुगेर उपचार लिनु जरुरी हुन्छ। “हैजा पूर्ण रूपमा उपचार गर्न सकिने रोग हो। तर ढिलो गरियो भने जटिलता बढ्छ,” डा. सिंहले भने।

हैजा संक्रमणबाट बच्नका लागि खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिए। राम्ररी पाकेको र ताजा खाना मात्र खाने, बासी वा सडेगलेका परिकार नखाने, खानेकुरालाई फोहोरमैलाबाट टाढा राख्ने, फलफूल र तरकारी राम्रोसँग पखालेर वा पकाएर मात्र खाने, पानी उमालेर वा शुद्धीकरण विधि प्रयोग गरेर पिउने, वरिपरि सफा राख्ने र फोहोरलाई उचित तरिकाले विसर्जन गर्ने उनले बताए।

डा. सिंहका अनुसार बिरामीलाई समयमै अस्पताल ल्याइएमा हैजाबाट निको हुन सकिन्छ। “जनतामा आत्तिने होइन, तर सचेत रहने बानी बसाल्नु जरुरी छ,” उनले जोड दिए।

सतर्कताका रूपमा वीरगञ्ज महानगरपालिकाले उच्च जोखिम भएका वडा नम्बर १ देखि १६ सम्मका घरधुरीमा गएर सचेतना अभियान सञ्चालन गरेको छ। विद्यालय र कलेजहरू बन्द गरी भीडभाड कम गरिएको छ भने सडक किनारमा पाइने पानीपुरी, चाट, भाजा जस्ता खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिइएको छ।

मधेस प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराएर उपचार सहज बनाएको छ भने संघीय स्वास्थ्य मन्त्रालयको टोली पनि संक्रमित क्षेत्र र अस्पतालको स्थलगत अनुगमन गरिरहेको छ। केन्द्रीय सुरक्षा समितिको बैठकले पनि प्रभावित क्षेत्रका बिरामीको उपचार व्यवस्थापन र हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले सातवटा निर्णय गरेको छ। प्रभावित क्षेत्रमा माइकिङ, घरदैलो र सचेतना अभियान सञ्चालन गर्ने, बिरामीलाई सबै अस्पतालमा पहिलो प्राथमिकतामा राख्ने, ‘डेडिकेटेड बेड’ छुट्याउने, थप जनशक्ति खटाउने, स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक बिदा नदिने, आवश्यक औषधि, किट र पानी शुद्धीकरण सामग्री पर्याप्त मात्रामा सुनिश्चित गर्ने र प्रदेश तथा संघीय सरकारसँग सहयोग माग्ने व्यवस्था गरिएको छ।


सम्बन्धित खबरहरु