वीरगञ्ज । वीरगञ्जमा फैलिएको हैजा (कोलेरा) महामारी रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकार सक्रिय बनेका छन्। नाला र ढलको दूषित पानीबाट संक्रमण फैलिएको आशंका गरिए पनि यकिन कारण पत्ता लगाउन वीरगञ्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका ११ स्थानबाट खानेपानीका नमूना संकलन गरी काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको छ, जसको रिपोर्ट सोमबार आउने अपेक्षा गरिएको छ। नेपाल खानेपानी संस्थान र विभिन्न डीप बोरिङबाट आपूर्ति हुने पानीसमेत परीक्षणका लागि संकलन गरिएको छ।
यसैबीच महानगरपालिकाले दूषित ढलसँग मिसिएका खानेपानीका पाइप निकाल्ने काम आइतबारदेखि सुरु गरेको छ। पहिलो चरणमा वडा नम्बर १२ मा पाइपलाइन व्यवस्थापन गरिएको र सोमबारदेखि अन्य वडामा पनि सो कार्यलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त कर्णले जानकारी दिएका छन्।
महानगरले प्रभावित क्षेत्रमा प्रत्यक्ष जानकारी लिन, सम्भावित संक्रमित पहिचान गर्न र सरसफाइबारे सचेतना फैलाउन २६ वटा टोली परिचालन गरेको छ, जसमा महानगरका स्वास्थ्यकर्मीका साथै नर्सिङ कलेजका विद्यार्थीहरू समेत संलग्न छन्। संघीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतको ढल तथा खानेपानी व्यवस्थापन विभागबाट आएको प्राविधिक टोलीले समेत वीरगञ्जका विभिन्न वडामा पुगेर नमूना संकलन गरिरहेको छ।
विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार प्रभावित क्षेत्रमा ‘पीयूष’ लगायतका आवश्यक शुद्धीकरण सामग्री पठाइएको छ। संघीय स्वास्थ्य मन्त्रालयले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट दुईजना विज्ञ चिकित्सक वीरगञ्ज पठाइसकेको छ, जसले प्रभावित क्षेत्र र अस्पतालहरूमा स्थलगत निरीक्षण गरिरहेका छन्।
यसैगरी मधेस प्रदेश सरकारले पनि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले औषधि, सामग्री र जनशक्ति उपलब्ध गराएको छ। आइतबार प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुघनप्रसाद सिंह स्वयं वीरगञ्ज पुगेर नारायणी अस्पताललाई १७ प्रकारका औषधि र सामग्री हस्तान्तरण गरेका छन्। उनले महामारीप्रति प्रदेश सरकार अत्यन्त गम्भीर रहेको र आवश्यक जनशक्ति, औषधि वा उपकरणका हकमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालका अनुसार हालै नारायणी अस्पतालमा १० जना मेडिकल अफिसर, १० जना परामेडिकल स्टाफ र केही नर्सहरू पठाइसकिएको छ भने आवश्यकता अनुसार थप व्यवस्था गरिँदै जानेछ।
पर्साका सबै १४ वटै पालिका, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले सातवटा निर्णय गरेको छ। निर्णयअनुसार प्रभावित क्षेत्रमा माइकिङ, घरदैलो र सचेतना अभियान सञ्चालन गरिनेछ भने अस्पतालहरूले हैजाका बिरामीलाई पहिलो प्राथमिकतामा उपचार गर्नेछन्।
साथै ‘डेडिकेटेड बेड’ छुट्याएर, थप जनशक्ति खटाएर र अत्यावश्यक बाहेक स्वास्थ्यकर्मीलाई बिदा नदिई महामारी नियन्त्रणमा जुटिनेछ। औषधि, किट तथा पानी शुद्धीकरण सामग्री पर्याप्त मात्रामा सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले पहल गर्ने र आवश्यकता अनुसार प्रदेश तथा संघीय सरकारसँग सहयोग माग्ने व्यवस्थासमेत गरिएको छ।
