आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा हैजा नियन्त्रणका लागि गृहमन्त्रीको निर्देशन

Avatar photo दिशा निर्देश ८ भाद्र २०८२, आईतवार २०:१८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। वीरगञ्जमा फैलिँदै गएको हैजाको जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे तुरुन्तै परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा रहन आदेश दिएका हुन् ।

बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिँदै भने, चिकित्सकसहितको मेडिकल टोली आवश्यकताअनुसार पठाउन सक्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ । सुरक्षा निकाय पनि सोही अनुसार तयार अवस्थामा छन् ।”

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी सहित सुरक्षाकर्मीका शीर्ष अधिकारीहरूको उपस्थिति थियो । यस अवसरमा मुलुकभरको शान्ति–सुरक्षाको अवस्था समेत गहन रूपमा समीक्षा गरिएको प्रवक्ता काफ्लेले बताए ।

उनका अनुसार पछिल्ला दिनमा भइरहेको धर्ना, जुलुस, आन्दोलन तथा अन्य अवाञ्छित गतिविधीलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने विषयमा पनि बैठकले विशेष ध्यान दिएको छ ।


सम्बन्धित खबरहरु