वीरगंज । हैजाको महामारी फैलएको वीरगंजमा बिरामीको उपचारका लागि मधेश पदेश सरकारले नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासलाई औषधि र सामाग्री हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले दिनहुँ झाडापखाला र हैजाका बिरामीहरु थपिदैं गएको बताए । महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेको उनको भनाई छ ।
