आज:  | Tue, 21, Apr, 2026

वीरगंजमा हैजा नियन्त्रणका लागि पानी परीक्षण गर्न मोबाइल भ्यान सहित प्राविधिक टोली परिचालन

Avatar photo दिशा निर्देश ८ भाद्र २०८२, आईतवार १२:०२ मा प्रकाशित (८ महिना अघि)

वीरगंज । वीरगंजमा झाडापखाला र हैजाका बिरामी बढ्दै गएपछि खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा विशेष प्राविधिक टोली परिचालन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यानमार्फत वीरगंजका विभिन्न क्षेत्रको खानेपानीको गुणस्तर परीक्षण सुरु गरेको हो ।

मन्त्री यादवले वीरगंज पुगेर हैजा प्रभावित क्षेत्र मूर्ली र नारायणी अस्पतालको स्थलगत अवलोकन गरेका थिए । निरीक्षणका क्रममा उनले बिरामीहरूको उपचार अवस्था, अस्पतालमा भइरहेको व्यवस्थापन, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापन प्रणालीबारे विस्तृत जानकारी लिएका थिए ।

मन्त्री यादवले भने, “तराई–मधेस, विशेषगरी वीरगंज क्षेत्रमा खानेपानीको समस्या पुरानै हो । अहिले हैजा र झाडापखालाका बिरामीहरू देखिनु चिन्ताको विषय हो । प्रभावित क्षेत्रको पानी परीक्षण गर्न हामीले तत्कालै टोली परिचालन गरेका छौँ । हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील छ ।”

उनले स्थानीय प्रशासन, अस्पताल, खानेपानी आपूर्तिकर्ता निकाय तथा सरोकारवाला सबैसँग घनिष्ट समन्वय गर्दै हैजा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशनसमेत दिएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार, मन्त्री यादवको निर्देशनपछि विभागले प्राविधिक टोलीलाई आवश्यक सामग्रीसहित तत्कालै प्रभावित क्षेत्रमा पठाएको हो । उनले भने, “टोलीले खानेपानी परीक्षण मात्र होइन, स्थानीय बासिन्दालाई सुरक्षित पानी प्रयोग गर्ने तरिका, सरसफाइमा ध्यान दिने उपाय, र पियुषको प्रयोगबारे जनचेतनामूलक गतिविधि पनि सुरु गरिसकेको छ ।”

हाल वीरगंजका विभिन्न वडाहरूमा हैजा फैलन सक्ने उच्च सम्भावना देखिएकाले प्रभावित क्षेत्रमा पियुषसहित अन्य आवश्यक सामग्री तत्काल वितरण गरिने जनाइएको छ। मन्त्रालयले पानी शुद्धीकरण र सरसफाइमा कडाइ गर्ने, अस्पतालमा बिरामीको सहज उपचार सुनिश्चित गर्ने र हैजा नियन्त्रणका लागि आवश्यक अतिरिक्त स्रोत परिचालन गर्ने तयारी गरेको जनाएको छ ।


सम्बन्धित खबरहरु