आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण, विद्यालय दुई दिनका लागि बन्द

Avatar photo दिशा निर्देश ८ भाद्र २०८२, आईतवार ०९:०७ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । पर्साको वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएको छ। महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ११, १३ र १६ मा संक्रमण देखिएको हो।

हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने सयभन्दा बढी बिरामी उपचाररत छन्। झाडापखालाका कारण तीन जनाको ज्यान गएको भनिए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज कुमार सिंहका अनुसार दूषित खाना वा पानीमार्फत ‘भिब्रियो कोलेरा’ जीवाणु शरीरमा प्रवेश गर्दा हैजा लाग्ने गर्छ। यस रोगमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानीको कमी हुने र ज्वरो आउनेजस्ता लक्षण देखिने बताइन्छ।

महानगरपालिका वडा नं. १ देखि १६ सम्मलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ। घर–घरमै टोली पुगेर सरसफाइमा जोड दिने, सचेतना फैलाउने र उपचारमा ल्याउने कार्य भइरहेको महानगरले जनाएको छ। साथै उमालिएको वा शुद्धिकरण गरिएको पानी मात्र पिउन, बासी खाना नखान, तरकारी राम्ररी पखालेर पकाएर खान र साबुनपानीले हात धुन अपील गरिएको छ।

संक्रमण बढेसँगै महानगरपालिकाले दुई दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। साथै पानीपुरी, चटपटे, चाटलगायत सडक खाद्य वस्तुको बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको छ।

यसैबीच खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका अस्पतालमा पुगेर बिरामीहरूको अवस्था बुझ्नुभएको छ। उहाँले हैजा नियन्त्रणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत पियुषसहितका सामग्री पठाई परीक्षण टोली परिचालन गरिएको जानकारी दिनुभयो।


सम्बन्धित खबरहरु