वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका आकस्मिक रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ।
शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा झाडापखालासँगै हैजाको शंका भएपछि तत्कालै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा संक्रमण वडा नं. ११, १३ र १६ मा समेत फैलिएको पुष्टि भएको छ।
यसबीच महानगरले यहाँका अस्पताल सञ्चालकहरूसँग बैठक गरी थप सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख राजेशमान सिंहले सबै जनशक्ति, औषधि, सवारी साधन र स्रोत परिचालन गर्दै प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ।
महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल डाकी संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटाएको छ। आकस्मिक अवस्थामा प्रयोग हुने स्वास्थ्यकर्मी, एम्बुलेन्स, औषधि तथा अन्य सवारीसाधन स्ट्यान्डबाइमा राखिएको छ। हाल १ देखि १६ नम्बर वडालाई बढी जोखिमयुक्त मानिएको छ। प्रभावित क्षेत्रका घर–घरमा टोली पुगेर सरसफाइमा जोड दिने, बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउने र सचेतना फैलाउने कार्य भइरहेको छ।
महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरी नागरिकलाई हैजाबारे जानकारी, उपचार समन्वय र आपतकालीन सम्पर्क सुविधा उपलब्ध गराइरहेको छ। यसले निगरानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
३० बिरामी अस्पतालमा, ३ जनामा पुष्टि
मुलपुर्व संक्रमणस्थल मानिएको मुर्ली टोलमा करिब ३० जनामा झाडापखालाको लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो। नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणपछि ३ जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको हो।
यता, नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थकेयरलगायतका स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीहरूको चाप बढ्दो छ। शनिबारसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको खबर आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको हो वा होइन भन्ने पुष्टि हुन बाँकी छ।
विशेषज्ञहरूले दूषित पानी र खानाबाट हैजा सर्ने भएकाले खानेपानीमा विशेष ध्यान दिन आग्रह गरेका छन्। ढल र खानेपानी मिसिने समस्याले महामारीलाई निम्त्याएको अनुमान गरिएको छ।
महानगरले क्लोरिन हालिएको पानी प्रयोग गर्ने, उमालेर मात्र खाने, सफा पानी सेवन गर्ने, हातधुने बानी बसाल्ने र व्यक्तिगत सरसफाइमा जोड दिन जनतालाई आग्रह गरेको छ। स्वास्थ्यकर्मीहरू प्रभावित वडामा घर–घर पुगेर जनचेतना फैलाइरहेका छन्।
