काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि अल्झिएको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि कुनै अवरोध नरहेको भन्दै सरकार दृढ रहेको स्पष्ट पारे।
उनका अनुसार संसदबाट आवश्यक विधेयक पारित गर्ने, संरचना निर्माण र पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ। ‘छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी एक मात्र प्रदेशमा स्थापना गर्नु हाम्रो दायित्व हो,’ उनले भने।
विगतमा संघ–प्रदेशबीचको अधिकारसम्बन्धी विवादले गेटा सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै उनले अब यसलाई विवाद होइन, जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रको अपरिहार्य पूर्वाधारको रूपमा अघि बढाइने जिकिर गरे।
गेटा मेडिकल कलेजलाई आफ्नो पहिलो प्राथमिकताको प्रोजेक्टका रूपमा लिएको बताउँदै मन्त्री पौडेलले आफ्नो कार्यकालमै यसलाई पूर्ण सञ्चालनमा ल्याइने विश्वास दिलाए।
उनले हालैदेखि अस्पतालमा बिरामीको चाप समेत बढेको तथ्यांक प्रस्तुत गर्दै भने, ‘पहिले दैनिक ५० जना बिरामी आउँथे, अहिले ३०० जना उपचारका लागि आउने गरेका छन्।’
