काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकाबाट प्रकाशित दुई समाचारको स्रोत माग्दा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घ काठमाडौँ शाखाका अनुसार साउन ११ मा प्रकाशित ‘सामान्य प्रशासन मन्त्री गुप्ता लाखौँको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी’ शीर्षकको समाचार र साउन १८ मा प्रकाशित ‘७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ शीर्षक समाचारसँग सम्बन्धित अडियो तथा स्रोत आयोगले उपलब्ध गराउन पत्राचार गरेको हो।
महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै स्रोतको संरक्षण पत्रकारिताको मूल सिद्धान्त, धर्म र संवैधानिक अधिकार भएको स्मरण गराएको छ। पत्रकार आचारसंहिताले पनि स्रोतको गोपनीयता कायम राख्न प्रावधान गरेको हुँदा अख्तियारको यस्तो माग पत्रकारिता सिद्धान्त, संविधान र आचारसंहिताको विपरीत रहेको महासङ्घको ठहर छ।
महासचिव रामप्रसाद दाहालका अनुसार, “प्रकाशित समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने बाटो भए पनि आयोगले समाचारको स्रोत माग्नु प्रेस स्वतन्त्रताविरुद्धको कदम हो। त्यसैले तत्काल पत्र फिर्ता लिन र विधिको दायरामा फर्किन महासङ्घ सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ।”
