आज:  | Tue, 21, Apr, 2026

डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न सर्वोच्चको आदेश

Avatar photo दिशा निर्देश ३ भाद्र २०८२, मंगलवार १७:५१ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं। सर्वोच्च अदालतले डिम्ब (अण्डा) कारोबार तत्काल रोक्न आदेश जारी गरेको छ।

न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म डिम्ब संकलन, भण्डारण र प्रत्यारोपण नगर्न र नगर्न दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो। साथै, यसको कारोबारप्रति प्रभावकारी निगरानी राख्न पनि अदालतले सरकारलाई आदेश दिएको छ।

यो मुद्दा अधिवक्ता अंकिता त्रिपाठीले दायर गरेकी थिइन्। उनले डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका र किशोरीहरू शोषणमा पर्ने खतरा बढ्ने भन्दै सर्वोच्चमा रिट हालेकी थिइन्।

सरकारले भने निःसन्तान व्यवस्थापन सेवा सञ्चालनलाई व्यवस्थित बनाउन भन्दै गत आइतबार मात्रै ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो मापदण्डले डिम्ब र शुक्रकीट दानलाई कानुनी मान्यता दिने व्यवस्था गरेको थियो।

मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले तीन महिनाको फरकमा ६ पटकसम्म अण्डा वा शुक्रकीट दान गर्न पाउने व्यवस्था गरिएको छ।

यसअघि गत असारमा १८ वर्षमुनिका किशोरीहरूको अण्डा संकलन गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएपछि यस विषयमा गम्भीर प्रश्न उठेका थिए।


सम्बन्धित खबरहरु