आज:  | Tue, 21, Apr, 2026

भदौ १४ गते वीरगञ्जमा बृहत महिला सम्मेलन गर्ने तयारी, पूर्वराष्ट्रपति भण्डारी आउने

Avatar photo दिशा निर्देश २४ श्रावण २०८२, शुक्रबार १४:३४ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ मातहतको महिला उद्यमशीलता विकास समितिले आगामी भदौ १४ गते “बृहत महिला सम्मेलन–२०८२” आयोजना गर्ने भएको छ । नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा संघको सभाहलमा हुने उक्त सम्मेलनको शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलने पर्सा–बारा जिल्लाका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा लगायतका क्षेत्रमा सक्रिय महिलाको योगदानलाई उजागर गर्नु, उनीहरूलाई सशक्त बनाउन नेतृत्व क्षमता विकास गर्नु र उद्यमशीलता तथा राष्ट्र निर्माणमा प्रेरित गर्ने उद्देश्य रहेको समितित संयोजक डा. लक्ष्मी थापाले बताइन् ।

उनका अनुसार कार्यक्रममा उद्योग, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्यसहित विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै अरुका लागि प्रेरणास्रोत बनेका प्रतिभाशाली महिलाहरुलाई सम्मान गर्ने तयारी छ । साथै राष्ट्रिय तहमा आफ्नो कर्म, विचार र पेशाले पहिचान बनाएका महिलाहरुको सहभागितामा प्यानल छलफल समेत गरिने संयोजक थापाले बताइन् ।

संघका अध्यक्ष हरिप्रसाद गौतमले स्वागत मन्तव्य राख्दै आफू अध्यक्ष बन्नु अघि देखिको परिकल्पना अब सार्थक बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले महिलालाई सशक्त बनाउन यो सम्मेलन महत्वपूर्ण मोड साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजक तथा संघका कार्यसमिति सदस्य अनुप अग्रवालले सहभागिता र सम्मानका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट फारम भर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराए । उनकाअनुसार इच्छुकले आफैं फारम भर्न सक्ने वा योग्य महिलाको सिफारिस गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अनुज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सदस्य निरज अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको उपस्थिति थियो । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव शिवजी गुप्ताले गरेका थिए ।

 


सम्बन्धित खबरहरु