आज:  | Tue, 21, Apr, 2026

डा. अभिषेक सुमनको उपचारपछि धर्मपालले जिते मृत्युसँगको लडाई, १४ दिनपछि डिस्चार्ज

Avatar photo दिशा निर्देश २३ श्रावण २०८२, बिहीबार १४:३४ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । Toxic Epidermal Necrolysis (TEN) नामक दुर्लभ र जटिल छालासम्बन्धी रोगबाट ज्यानको सङ्कटमा पुगेका एक बिरामी नारायणी अस्पतालमा १४ दिनको उपचारपछि पूर्णरूपमा स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मपाल भण्डारी साउन ८ गते अत्यन्तै गम्भीर अवस्थामा नारायणी अस्पताल भर्ना भएका थिए । आगोले डढेको जस्तो गरी शरीरको करिब ८० प्रतिशतभन्दा बढी भागको छाला झरेको थियो । प्रारम्भिक अवस्थामै उनको जीवनरक्षा कठिन हुने अनुमान गरिँदै आएको थियो ।

यस्तो विकराल अवस्थामा पनि नारायणी अस्पतालका छाला, यौनरोग, कुष्ठरोग तथा कोस्मेटिक सर्जन डा. अभिषेक सुमनको नेतृत्वमा सुरु गरिएको उपचारले धर्मपालको ज्यान जोगाउन सफल भएको हो । डा. सुमनसँगै अस्पतालको आईसियु विभाग, स्टाफ नर्स, मेडिसिन विभाग लगायतको टोलीको समन्वय र अथक प्रयासले धर्मपालले नयाँ जीवन पाएका हुन् ।

डा. सुमनले धर्मपाल अब पूर्णरूपमा खतरामुक्त भएको जानकारी दिँदै भने, “धेरैजसो यस्तो समस्या झोलाछाप औषधि र घरेलु उपचारका कारण देखिन्छ । तर हामीले समयमै रोग पहिचान गरेर उपचार थालेकै कारण उहाँको जीवन बचाउन सक्यौं ।”

स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएपछि धर्मपालको अनुहारमा चमक फर्किएको छ । भावुक हुँदै डा. सुमनले भने, “बिरामीको अनुहारमा देखिएको मुस्कान नै डाक्टरको सफलता हो ।”

धर्मपालका दाजु, भाउजु र दिदी मञ्जु जोशीले डा. सुमनप्रति आभार प्रकट गर्दै भने, “भगवान भनेका यस्तै त होलान् । हाम्रो परिवार उहाँप्रति सधैं ऋणी रहनेछ ।”


सम्बन्धित खबरहरु