आविद हुसैन/वीरगंज। यही सावन ८ गते दिउँसो करिब १ बजेको समयमा पर्साको सखुवाप्रसौनी गाउँपालिका निवासी रामसरण भण्डारी वीरगंजको नारायणी अस्पताल पुग्छन् । रामसरण आफ्नी पत्नी र दिदीसँगै मृत्युसँग लडीरहेका भाईलाई जीवन दिने आशमा अस्पताल पुगेका थिए । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय धर्मपाल भण्डारी जो जीवन र मृत्युको दोसाँधमा थिए ।
आगोले पोल्दा ढडेको जसरी शरिरको छालाको भाग करिब ८० प्रतिशत भन्दा पनि बढी डढेको हेर्नै नसकिने अवस्थामा उनी थिए । धर्मपाल टेन इपिडर्मल निक्रोलाइसिस (TEN) भन्ने एक दुर्लभ र खतरनाक छालासम्बन्धी रोगबाट पीडित थिए । सामान्यतया शरीरको ३०–४० प्रतिशत छाला झरेको अवस्थामा पनि यो रोगले ज्यान लिन्छ, तर धर्मपालको अवस्था अझै भयावह थियो । करिब ८० प्रतिशत भन्दा पनि बढी भागमा यो रोग फैलीसकेको थियो ।
यस्तो जोखिमपूर्ण अवस्था भएका धर्मपाललाई हतारिदै नारायणी अस्पतालको आकस्मिक कक्षमा राखियो । उनको पुरै शरिर छाला झरेर रगताम्य अवस्थामा थियो । उनको शरिर हेर्दा पनि जिउ सिरिङ्ग हुन्थ्यो । डाक्टरहरुले तत्कालै परीक्षण गरे । आवश्यक चेकजाँचपछि उनलाई आईसियु कक्षमा राख्नुपर्ने आवश्यक्ता देखियो । तर आईसियुमा बेड खाली नभएपछि उनीहरुसँग अरु कुनै विकल्प देखिएन । बुझ्दै जाँदा एउटा बेड खाली भेटियो, तर अरु कसैले रोकेर राखेको छ भनेर जवाफ आयो ।
पुनः आकस्मिक कक्षमै केही घण्टा बिताएपछि पनि आईसियुको खाली बेडमा कोही आएन । अनि बेडका लागि धर्मपालका दाई, भाउजुले हारगुहार गरे । धर्मपालका दाजुले स्टाफ नर्ससँग अनुरोध गरे, “दिदी, अरू बिरामी आएका छैनन् । कृपया हाम्रो भाइका लागि त्यो बेड मिलाईदिनुस् न, भाईलाई धेरै गाह्रो भइरहेको छ ।” शायद उनको अनुनयले ति स्टाफ नर्सको पनि मन पग्लियो क्यारे । राति ८ बजेको समयमा धर्मपाललाई सिसियुको बेड न. ए मा राखेर उपचार शुरु गरियो ।
त्यसपछि धर्मपाल ठीक हुने आशा पलाएपनि त्यो आशा चार दिनमै फेरि चुँडियो । डाक्टरले बिरामीको अवस्था झन गम्भीर हुँदै गएको भन्दै बाहिर लिएर जान भनेपछि उनीहरुमाथि झनै बज्रपात प¥यो । बल्लतल्ल पाएको बेड, त्यसमाथि आर्थिक अवस्था पनि खराब भएको हुँदा बिरामीका दाजुले कहाँ जाने, कसरी जाने भन्ने केही सोच्नै सकेनन् । बिरामीकी भाउजु रिनु देवीले भनिन्, “हामीसँग पैसा छैन । १६ हजारको तलब पाउने मान्छे हौँ । पाँच दिन भयो अस्पताल बसेको, बाहिर लैजानुपर्छ रे । अब कसरी लैजाने ?”
त्यही समयमा भगवान बनेर आए नारायणी अस्पतालका छाला, यौनरोग कुष्ठरोग तथा कौस्मिेटिक सर्जन डा.अभिषेक सुमन । डा. सुमनले, ‘यहीँ उपचार गर्छु, बाहिर लैजान आवश्यक छैन’ भनेपछि धर्मपालका आफन्तलाई ढुङ्गा खोज्दा देउता भेटे जस्तै भयो । अनि डा. सुमनले शुरु गरे धर्मपालको उपचार । डा. सुमन भन्छन्, ‘धेरैजसो यस्तो समस्या झोलाछाप औषधि, घरेलु उपचार वा धामीझाँक्रीको भर पर्नाले हुन्छ । हामीले समयमै पहिचान गरी उपचार थालेका कारण उहाँलाई बचाउन सक्यौं । अहिले उहाँ पूर्णरूपमा खतरामुक्त हुनुहुन्छ ।”
बिरामी धर्मपालका दाई, भाउजुसँगै दिदी मन्जु जोशी पनि अहिले भाईको स्वास्थ्य सुधार भएपछि खुशी छन् । डा. सुमनलाई ईंकित गर्दै उनीहरुले भने, ‘भगवान भनेका शायद यस्तै त होलान् ।”
स्वास्थ्यमा सुधार भएपछि बिरामी धर्मपालले मुस्कुराउँदै भने, ‘म त बाबा धाम जान लागेको थिएँ, बिरामी भएर रोकिएँ । तर मैले साक्षात भगवान यहीँ भेटे । डाक्टरलाई भगवानको दोस्रो रूप यत्तिकै भनिएको हैन रहेछ भन्ने कुरा अहिले थाहा भयो ।”
कहिलेकाहीँ जीवन यति कठोर मोडमा आइपुग्छ, जहाँ आँसु नै सहारा लाग्छ । र, त्यहीँ कतै एक जना मानिस अभिभावक भएर, भगवान भएर, सहारा बनेर उभिन्छन् । त्यस्तै सहारा र भगवान भनेर आए धर्मपालको जीवनमा डा. अभिषेक सुमन ।
बिरामीकी भाउजु रिनु देवी भन्छिन्, “नारायणी अस्पतालका ती दाह्री पालेका डाक्टरले हाम्रो देवरको जीवन बचाउनुभयो । उहाँको नाम थाहा छैन, तर अनुहार कहिल्यै भुल्दिन । हामी सधैं उहाँको ऋणी रहनेछौं ।”
नारायणी अस्पताल साँच्चिकै यस क्षेत्रका आम सर्वसाधारण नागरिकको आशाको केन्द्र यत्तिकै भनिएको हैन । यहाँ अझै पनि केही भरोसा बाँकी छ, र केही डाक्टरहरु पनि बाँकी छन्, जसले बिरामीको आशालाई जीवित राख्छन् र जीवन फर्काउँछन् ।
