आज:  | Tue, 21, Apr, 2026

नेपालको पहिलो औद्योगिक अनलाइन प्लेटफर्म ‘By Nepal’ को वीरगञ्जबाट शुभारम्भ

Avatar photo दिशा निर्देश १७ श्रावण २०८२, शुक्रबार १३:४५ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज। नेपालको औद्योगिक क्षेत्रले डिजिटल युगमा एक महत्वपूर्ण फड्को मारेको छ। नेपालकै पहिलो औद्योगिक सामग्रीको अनलाइन प्लेटफर्म ‘By Nepal’ को वीरगञ्जबाट भव्य रूपमा शुभारम्भ गरिएको छ। बाई ईन नेपाल प्रा.लि. द्वारा सञ्चालनमा ल्याइएको ByNepal.com वेबसाइट र मोबाइल एप्लिकेसनको शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

यस प्लेटफर्मको शुरुवात युवा उद्यमी चन्दन सिंह, राजन कार्की र दिपेश मिश्रको संयुक्त प्रयासमा भएको हो। उनीहरूले आधुनिक प्रविधिको प्रयोगमार्फत उद्योग व्यवसायलाई थप सरल, पारदर्शी र डिजिटल बनाउने उद्देश्य लिएका छन्।

By Nepal एक अत्याधुनिक डिजिटल मार्केटप्लेस हो, जसले निर्माण सामग्री, मेसिनरी, सुरक्षा उपकरण, कृषि औजार, इलेक्ट्रिकल तथा मेकानिकल सामानहरू सजिलै अनलाइन अर्डर गर्न मिल्ने बनाएको छ। अब उद्योगी, ठेकेदार, व्यवसायी तथा उपभोक्ताहरूले आवश्यक सामग्रीहरू मोबाइल वा कम्प्युटरमार्फत सिधै अर्डर गर्न सक्नेछन्।

उद्घाटन कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, युवा उद्यमी अनुप अग्रवाल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष विश्वास प्रताप साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपालमै पहिलोपटक गरिएको यस्तो व्यवसायिक डिजिटल प्रयासको सफलताको कामना गरे।

कार्यक्रममा कम्पनीका सञ्चालक राजन कार्की र दिपेश मिश्रले By Nepal स्थापना गर्नुको उद्देश्य, औद्योगिक आपूर्ति प्रणालीमा ल्याउने सहजता र सम्भावित लाभबारे प्रस्ट पारे।

युवा उद्यमी तथा सञ्चालक चन्दन सिंह ले भने, “नेपालमा उद्योग व्यवसाय अझै पनि पारंपरिक तरिकामै सीमित छ। हामीले डिजिटल प्रविधि प्रयोग गरेर औद्योगिक सामग्री खरिद–बिक्रीलाई सहज, पारदर्शी र भरपर्दो बनाउन यो प्लेटफर्म सुरु गरेका हौं। यो प्रयास औद्योगिक क्षेत्रका सबै सरोकारवालाहरूका लागि एक साझा प्रविधि–आधारित समाधान बन्नेछ भन्ने हामीलाई विश्वास छ।” कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य शुभचिन्तक ले गरेका थिए।


सम्बन्धित खबरहरु