वीरगंज, १४ साउन — यातायात व्यवस्था कार्यालय वीरगंजले आर्थिक वर्ष २०८१र८२ मा कुल १ अर्ब ६२ करोड ४० लाखभन्दा बढी राजश्व संकलन गरेको छ।
कार्यालयका प्रमुख कुसेश्वर साहका अनुसार यो रकम विभिन्न राजश्व शीर्षकबाट संकलित गरिएको हो।
सवारी साधन करबाट सबैभन्दा बढी १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी राजश्व आएको छ।
यातायात क्षेत्रमा लागू पर्ने रुट परमिट, पाटके, प्रदूषण तर्फबाट पनि ८ करोड ५० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको साहले जानकारी दिए।
यसैगरी, सबैभन्दा कम प्रशासनिक दण्ड, जरिवाना र जफत बाट १४ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्ष २०८०र८१ मा कार्यालयले कुल १ अर्ब ५२ करोड ५१ लाख राजश्व संकलन गरेको थियो। यस वर्ष १० करोडभन्दा बढी राजश्वमा वृद्धि भएको छ। कार्यालयका सहायक शाखा अधिकृत रामसुन्दर महतोका अनुसार प्रदेश सरकारले सवारी नवीकरणमा जरिबाना छुट सुविधा दिँदा बक्यौता कर बुझाउनेको संख्या बढ्दा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको हो ।
