वीरगञ्ज, १४ साउन — आर्थिक वर्ष २०८०/८१ मा वीरगञ्ज भन्सार नाकाबाट कुल ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार इन्धनबाट चल्ने अन एसेम्बल्ड मोटरसाइकलदेखि क्रेन र लहरीसम्मका विविध सवारीसाधन यस अवधिमा नेपाल भित्रिएका हुन् ।
सवारीसाधन आयात राजस्व संकलनको दोस्रो ठूलो स्रोतका रूपमा कायम रहेको छ । भन्सार कार्यालयका अनुसार इन्धनबाट चल्ने सवारीसाधन मात्रबाट १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
विशेष गरी अनएसेम्बल्ड मोटरसाइकलको आयात उल्लेखनीय देखिएको छ । गत आवमा मात्र ५० हजार २९१ वटा अनएसेम्बल्ड मोटरसाइकल भित्रिएका थिए, जसको कूल मूल्य ६ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो । यस शीर्षकबाट मात्रै ६ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरिएको हो।
त्यस्तै, १ हजार ४५४ वटा बस तथा ट्रकका चेसिसको आयातबाट २ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ९१२ वटा जीप, कार र भ्यानको आयात मूल्य २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । यस्तै, ५,७३५ वटा ट्रयाक्टर तथा ट्रिलरको मूल्य १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।
उक्त अवधिमा ४१७ वटा इन्धनबाट चल्ने बस पनि भित्रिएका थिए, जसको मूल्य १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । क्रङ्क्रिट मिक्सर लहरी १३९ वटा (७१ करोड) र ३१२ वटा ट्रक तथा मिनी ट्रक (७४ करोड) पनि भन्सार नाकाबाट भित्रिएका थिए ।
मूल्यको हिसाबले तुलनात्मक रूपमा कम देखिए तापनि ४,६४६ वटा मोटरसाइकलको आयातबाट ४३ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।
यसैबीच, विद्युतीय सवारीसाधनको आयातमा पनि वृद्धि देखिएको छ । वीरगञ्ज नाका हुँदै २,३३७ वटा साना–ठूला विद्युतीय सवारी भित्रिएका थिए, जसको मूल्य १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । यसबाट भन्सारले १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।
