आज:  | Tue, 21, Apr, 2026

अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक, तनाव र खुसीबीचको द्वन्द्व झल्कियो

Avatar photo दिशा निर्देश १३ श्रावण २०८२, सोमबार १२:५५ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं । निर्देशक सुशान्त गौतमको डेब्यु निर्देशन रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण पक्षले आइतबार एक साथ दुई फरक मूड झल्काउने पोस्टर सार्वजनिक गरेको हो।

पहिलो पोस्टरमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसँगै अन्य दुई कलाकार देखिएका छन्। किरण श्रेष्ठबाहेक सबै पात्रको अनुहारमा तनाव र चिन्ताको भाव देखिन्छ। पोस्टरको पृष्ठभूमिमा एकजनालाई हतकडी लगाएर प्रहरी कार्यलयमा बयान लिइँदै गरेको दृश्य छ, जसले कथाको रहस्यलाई थप गहिरो बनाएको छ।

त्यसैगरी, दोस्रो पोस्टरमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देबालाई मन्दिरमा आरती गर्दै खुसी मुद्रामा प्रस्तुत गरिएको छ। उनीहरू नवविवाहित जोडीझैं देखिन्छन्, जसबाट सम्बन्धको नयाँ सुरुवात झल्किएको छ।

यी दुई पोस्टरले चलचित्रका पात्रहरूको मनोभाव, सम्बन्ध र द्वन्द्वलाई संकेत गर्दै दर्शकमा जिज्ञासा र सस्पेन्स सिर्जना गर्ने प्रयास गरेका छन्।

यसअघि सार्वजनिक गरिएको मोसन टिजरमा ‘पैसाका लागि हुने संघर्ष’को संकेत गरिएको थियो। अब सार्वजनिक पोस्टरमार्फत चलचित्रले ‘तनाव र खुसीबीचको द्वन्द्व’ प्रस्तुत गर्ने संकेत देखिएको छ।

‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते नेपाली बजारमा प्रदर्शनमा आउँदैछ। हिन्दी संस्करण भने असोज ६ गते (सेप्टेम्बर २२) देखि वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने कथा मुकेश खनालले लेखेका हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन्। सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

‘अभिमन्यु’मा शरद महतोको छायांकन, मदन घिमिरेको सम्पादन, सुप्रिम पराजुलीको रंग संयोजन, मनोज श्रेष्ठको भिएफएक्स, जीवन शाक्यको लाइन प्रोडक्सन रहेको छ। चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन्।


सम्बन्धित खबरहरु