वीरगञ्ज ८ साउन – वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड रुपैयाँ बढीका सामान आयात गरिएको हो । गत आर्थिक वर्षमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोड रुपैयाँको रहेको छ । वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आर्थिक वर्षमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । ‘गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेखनीय सुधार भएको देखिन्छ,’ उनले भने, ‘अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुन सक्छ ।’
गत आर्थिक वर्षमा मेसिनरी तथा तिनका पार्टपुर्जा ३६ अर्ब ६३ करोड रुपैयाँका आयात गरिएका छन् । ३४ अर्ब ४१ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा २८ अर्ब ५३ करोड रुपैयाँ पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।
गत आर्थिक वर्षमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । १ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो नाका हुँदै ३१ अर्ब १४ करोड रुपैयाँका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आर्थिक वर्षको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड रुपैयाँ बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल रहेको छ । गत आर्थिक वर्षमा ६१ अर्ब ४५ करोड रुपैयाँ पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो । जबकि अघिल्लो आर्थिक वर्षमा ९ करोड रुपैयाँ पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो ।
त्यसैगरी, गत आर्थिक वर्षमा ९ अर्ब २६ करोड रुपैयाँ पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो । गत आर्थिक वर्षमा सात अर्ब ६९ करोड रुपैयाँ पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ५९ करोड रुपैयाँ पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।
गत आर्थिक वर्षमा ५ अर्ब ३७ करोड रुपैयाँ पर्ने ४ करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५९ करोड रुपैयाँ पर्ने ५ करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।
