वीरगन्ज, ८ साउन – वीरगन्ज नाका हुँदै पछिल्लो आर्थिक वर्ष २०७८/८२ मा झण्डै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। आयात केही घटेपनि वीरगन्ज भन्सार कार्यालयले त्यसबाट ८१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षमा ९९ अर्ब ९५ करोड रुपैयाँ मूल्य बराबरको ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल र ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ४ लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको थियो।
त्यस्तै, ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास, १६ अर्ब १४ करोड रुपैयाँ मूल्यको एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ र ६९ करोड रुपैयाँ मूल्य बराबरको ७ हजार ९३० किलोलिटर मट्टितेलसमेत भित्रिएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुँदै १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, चालु वर्षमा अघिल्लो वर्षको तुलनामा १ अर्ब ९४ करोड रुपैयाँ कम मूल्यको पेट्रोलियम पदार्थ आयात भए पनि राजस्व संकलन भने १०.२३ प्रतिशतले वृद्धि भएर ८० अर्ब ९२ करोड पुगेको हो। अघिल्लो वर्ष यो राजस्व ७३ अर्ब ४० करोड रुपैयाँ थियो।
लामिछानेका अनुसार, वीरगन्ज भन्सार कार्यालयमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन भएको हो। भन्सार राजस्वमा पेट्रोलियम पदार्थसँगै नयाँ सवारीसाधन र औद्योगिक कच्चा पदार्थको योगदान उल्लेखनीय रहेको उनले बताए।
