आज:  | Tue, 21, Apr, 2026

पटेर्वासुगौली गाउँपालिकाद्वारा ४ सय सुत्केरी महिलालाई पोषण कोसेली वितरण

Avatar photo दिशा निर्देश ६ श्रावण २०८२, सोमबार १२:३९ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज सुत्केरी महिलाको स्वास्थ्य, पोषण र सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाले ‘उपाध्यक्ष सुत्केरी पोषण कोसेली वितरण कार्यक्रम’ अन्तर्गत यस वर्ष ४ सय सुत्केरी महिलालाई पोषणयुक्त सामग्री वितरण गर्ने अभियान सुरु गरेको छ।

आइतबारबाट सुरु गरिएको कार्यक्रमअन्तर्गत वडा नम्बर ४ मा रहेको आधारभूत अस्पतालमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरी र उपाध्यक्ष ममता महत्तोले संयुक्त रूपमा ५१ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरेका हुन्।

कार्यक्रमअन्तर्गत वडा नं. २ गादी र वडा नं. ५ निचुटास्थित बर्थिङ सेन्टरहरूमा समेत कोसेली वितरण कार्यक्रम सञ्चालन हुने जनाएको छ।

उपाध्यक्ष ममता महत्तोका अनुसार, कोसेली सामग्रीमा दुई महिनाका लागि पुग्ने हिसाबले तयार पारिएको पोषणयुक्त प्याकेट समावेश गरिएको छ, जसमा आधा किलो घिउ, दुई किलो मसुरको दाल, एक किलो चना र एक किलो बोडीको गेडा रहेको छ।

उपाध्यक्ष महत्तोले भनिन्, “सुरक्षित मातृत्व र पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले गत वर्षदेखि नै यो कार्यक्रम सुरु गरेका हौँ। बर्थिङ सेन्टर वा अस्पतालमै पुगेर सुरक्षित सुत्केरी गराउन महिलालाई प्रोत्साहन गर्न हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ।”

गएको वर्ष सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाका ३३० जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको थियो। यसपटक भने यो संख्या बढाएर ४ सय पुर्‍याइएको छ।


सम्बन्धित खबरहरु