आज:  | Tue, 21, Apr, 2026

रामायणको दुई भर्सन : रणबीर कपूर र विष्णु मांचू आ–आफ्नै परियोजनासँग अगाडि

Avatar photo दिशा निर्देश ६ श्रावण २०८२, सोमबार ०९:४१ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं — पौराणिक महाकाव्य ‘रामायण’ पुनः एकपटक भारतीय फिल्म उद्योगमा चर्चा र प्रतिस्पर्धाको केन्द्र बनेको छ। एकातर्फ अभिनेता रणबीर कपूर, यश र साई पल्लवी जस्ता चर्चित कलाकारको अभिनय रहने बहुप्रतिक्षित फिल्म रामायणम्’ निर्माण भइरहेको छ भने अर्कोतर्फ साउथ अभिनेता तथा निर्माता विष्णु मांचू ले अर्कै ‘रामायण’ परियोजनाको घोषणा गरेका छन्।

टाइम्स अफ इन्डिया लाई दिएको अन्तर्वार्तामा विष्णु मांचूले आफूले सन् २००९ मै रामायणमा आधारित फिल्मको स्क्रिप्ट तयार पारेको खुलासा गरेका छन्। उनका अनुसार त्यस समय भगवान रामको भूमिकामा साउथ सुपरस्टार सूर्या, सीताको भूमिकामा बलिउड अभिनेत्री आलिया भट्ट, र रावणको भूमिकामा आफ्ना पिता मोहन बाबू लाई लिने योजना बनाइएको थियो। फिल्मको निर्देशन राघवेंद्र राव ले गर्ने तय भएको थियो।

विष्णुका अनुसार उनको ‘रामायण’ रावणको जन्मदेखि मृत्युसम्म केन्द्रित रहने छ। बजेट अत्यधिक भएकाले पुरानो योजना रोकिन पुगेको भए पनि अहिले फेरि यसलाई अघि बढाउने संकेत उनले दिएका छन्। उनले स्वयं हनुमानको भूमिका निभाउने चाहना पनि व्यक्त गरेका छन्।

यसअघि विष्णु मांचूले बनाएको पौराणिक फिल्म ‘कन्नप्पा’ असार १३ गते शुक्रबार प्रदर्शनमा आएको थियो। बलिउड अभिनेता अक्षय कुमारको विशेष उपस्थिति रहेको उक्त फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेन।

अर्कातर्फ, निर्देशक नितेश तिवारी को निर्देशनमा निर्माण भइरहेको रणबीर कपूर अभिनित फिल्म ‘रामायणम्’ भने दुई भागमा प्रदर्शन हुने तयारीमा छ। फिल्मको पहिलो भाग २०२६ को दीपावली र दोस्रो भाग २०२७ को दीपावली मा रिलिज हुने तय गरिएको छ।


सम्बन्धित खबरहरु