वीरगन्ज, ३ साउन —रक्त अभावका कारण पीडामा रहेका बिरामीहरूलाई राहत दिने उद्देश्यले वीरगन्जमा शनिबार एक सशक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘एक घर, एक रक्तदाता’ भन्ने नारालाई सार्थक बनाउने प्रयासस्वरूप गौतम समाज कल्याण संस्था र गौतम स्कुलको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
गौतम स्कुलको जुनियर विंग परिसरमा सम्पन्न उक्त कार्यक्रमले वीरगन्ज क्षेत्रमा बढ्दो रक्त संकटप्रति ध्यान तान्दै समाजमा नियमित रक्तदानको संस्कार विकास गर्न प्रेरणा दिएको छ।
कार्यक्रममा गौतम स्कुलकी म्यानेजिङ डाइरेक्टर प्रीया परिक्षा लामा प्रमुख अतिथिका रूपमा सहभागी भइन्। नेपाल रेडक्रस सोसाइटी, वीरगन्ज शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
रक्तदानमा १५ महिला सहित कुल ४५ जनाले सहभागी भई रक्तदान गरेका थिए। प्रीया परिक्षा लामासहित, रुक्मिणी चौधरी, देव सरन चौधरी थारु, उमाशंकर प्रसाद कुश्वाहा, देवराज न्यौपाने, अर्विन्द चौधरी, प्रभाकर गुप्ता, निरज गुप्ता र बेदनन्द ठाकुर जस्ता व्यक्तिहरूको सहभागिता उल्लेखनीय रह्यो।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले नियमित रूपमा देखिने रक्त अभावको गम्भीरताबारे धारणा राख्दै भने, “एक घर, एक रक्तदाता बनाउने हो भने यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।” उनले यसलाई समाज रूपान्तरण गर्ने अभियानको रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रमको व्यवस्थापनमा सौरभ राज पाण्डेसहित राजन श्रीवास्तव, जितेन्द्र कुश्वाहा, विवेक यादव, नितेश साह लगायतको टोली सक्रिय थियो। विद्यालयका शिक्षक गणेश क्षेत्री, रमेश शर्मा र सौराज प्रधान पनि कार्यक्रममा सहभागी थिए।
वीरगन्जमा रक्तदानको चेतना विस्तार गर्दै आयोजित यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश मात्र दिएको छैन, जीवन बचाउने अभ्यासलाई पनि संस्थागत रूपमा अघि बढाएको छ। अब चाहिएको छ — नियमितता र सामूहिक प्रतिबद्धता।
