वीरेन्द्रनगर : सुर्खेत लेकबेंसी–१० बस्ने रामु साउद पेट दुख्ने समस्या लिएर दुई महिनाअघि प्रदेश अस्पताल सुर्खेत पुगिन् । डाक्टरले चेकजाँच गरे । भिडियो एक्स–रे गर्न लगाइयो । प्रदेश अस्पतालमा सिटीस्क्यान बिग्रिएको भन्दै वीरेन्द्रनगर बजारमै रहेको देउती नर्सिङहोमा सिटीस्क्यान गर्न पठाइयो । मिर्गाैलामा पत्थरीको समस्या देखाइयो । अप्रेसनका लागि असार ३० गतेको ‘डेट’ दिइयो ।
डेटअनुसार उनी अस्पताल पुगिन् । तर, अप्रेसन थियटरभित्र सादा एक्स–रे गरियो । मिर्गौलामा पत्थरी देखिएन । र, पनि उनको अप्रेसन गरियो । तर, मिर्गौलामा पत्थरी फेला परेन । हाल रामु प्रदेश अस्पतालको सर्जरी वार्डको १ सय २० नम्बर बेडमा स्वास्थ्यलाभ गरिरहेकी छिन् ।
च्याउ टिपेर गुजारा, औषधिउपचारमै समस्या
मुगुको राराछायानाथ–१२ की रामु सुर्खेतको लेकबेंसीमा परिवारसँग बस्छिन् । जंगलबाट च्याउ टिपेर बिक्री गर्दै परिवारको गुजारा चलाइरहेकी छिन् । तर, प्रदेश अस्पतालले जबरजस्त थप बिमारी बनाइदिएपछि उनको परिवारको दैनिकी गुजारामै समस्या भएको छ । अर्कोतिर, देउती नर्सिङ होममा सिटीस्क्यान गर्दा १२ हजार र प्रदेश अस्पताल सुर्खेतमा अप्रेसन गर्दा २०÷२५ हजार खर्च भइसकेको छ । थप उपचार गर्न र औषधि किन्नका लागि पैसाको अभाव छ ।
‘अस्पतालले भनेअनुसार भिडियो यक्सरे, सिटीस्क्यान सबै जाँच गरे । डाक्टरले तपाईंको मिर्गौलामा १३ एमएमको पत्थरी छ भन्नुभयो,’ रामुले भनिन्, ‘तर अप्रेसन गर्दा पत्थरी नै फेला परेन् । मलाई अनावश्यक रूपमा दुःख दिने काम भयो । न मेरो पैसा जोगियो, न मलाई सुख भयो । न मेरो पेट दुखाइको बिराम पत्ता लगाइयो । मेरो स्वास्थ्यमाथि गम्भीर खेलवाड गरियो ।
अस्पतालमा डाक्टर भनेका भगवान् भनेर आएँ । तर, भगवानबाटै म माथि अन्याय भयो ।’ खर्च भएको पैसा, अप्रेसन गर्दाको पीडा र अस्पतालमा पाएको दुःखको क्षतिपूर्ति कसले दिने हो ? रामुले प्रश्न गरिन् ।
उल्टै धम्की
पत्थरी नै नभई किन अप्रेसन गरेको भनेर डाक्टरलाई सोध्दा उल्टै धम्की दिने गरिएको रामुले पीडा पोखिन् । आफन्तले प्रश्न गर्दा आफूलाई पनि धम्क्याउने गरिएको रामुका पति खडानन्दले बताए । ‘मेरो श्रीमतीको चेकजाँच गरेको फाइल अस्पतालका स्टाफहरूले राखेका छन्,’ पति खडानन्दले भने, ‘बिरामीको बेडमा डकुमेन्ट पनि केही छैनन् ।
आफन्तहरूले फोनबाट डाक्टरलाई सोधेकै विषयमा मलाई डाक्टरहरू आएर पटक–पटक थर्काउने काम गरिरहेका छन् । यसबाट हामीलाई थप पीडा भइरहेको छ । अस्पताल र डाक्टरप्रति थप प्रश्न उब्जाएको छ ।’
प्रदेश अस्पतालका निमित्त प्रमुख डा.गणेश थापाले बिरामी रामुको अप्रेसन गर्दा पत्थरी फेला नपरेको स्वीकार गरे । ‘भिडियो एक्सरे र मिर्गौलामा सिटीक्यानले पत्थरी देखायो । त्यसैका आधारमा अप्रेसन गर्दा पत्थरी फेला परेन्,’ डा. थापाले भने, ‘मिर्गौलाको इन्डोस्कोपी गरेर दूरबिनबाट पनि हेरेको हो । तर, पत्थरी फेला परेन । लुकेको पनि हुन सक्छ । बाहिर आएको पनि हुन सक्छ । दूरबीनले नदेखेको पनि हुन सक्छ । फेरि सिटीस्क्यान गर्ने योजना छ । हाम्रो लापरबाही होइन् ।
साभार : आन्नपूर्ण पोस्ट
