आज:  | Tue, 21, Apr, 2026

सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सारमा गाभियो, एकीकृत सेवा प्रवाह सुरु

Avatar photo दिशा निर्देश २ श्रावण २०८२, बिहीबार १०:५३ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज ,१ साउन–  सिर्सियाको सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । अबदेखि दुई कार्यालयबीचको सेवा एकीकृत रूपमा वीरगञ्ज भन्सारमार्फत प्रदान गरिने भएको छ ।

यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालय स्वायत्त रुपमा सञ्चालनमा रहेको थियो भने वीरगञ्ज भन्सारको मातहतमा एकीकृत जाँचचौकी (आईसीपी) सञ्चालन हुँदै आएको थियो । आईसीपीमार्फत मुख्यतः सवारीसाधनबाट आयात–निर्यात हुने वस्तुहरूमा जाँच हुने गरेको थियो भने सुक्खा बन्दरगाह भन्सारबाट रेलमार्गमार्फत सामान आयात–निर्यात गरिँदै आएको थियो ।

भन्सार प्रशासक दीपक लामिछानेका अनुसार संघीय सरकारको निर्णयअनुसार भौतिक, प्रशासनिक र कार्यप्रणाली दृष्टिकोणले सहजता ल्याउने उद्देश्यले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई वीरगञ्ज भन्सार कार्यालयमा समाहित गरिएको हो ।

राजस्व सङ्कलनका हिसाबले पनि सुक्खा बन्दरगाहको योगदान उल्लेखनीय रहँदै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र सुक्खा बन्दरगाह भन्सार कार्यालयमार्फत ४९ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

नयाँ संरचनाअनुसार अब वीरगञ्ज भन्सार कार्यालय एकीकृत रूपमा सडक र रेल दुवै माध्यमबाट हुने वैदेशिक व्यापारका सम्पूर्ण प्रक्रिया सम्हाल्नेछ ।


सम्बन्धित खबरहरु