आज:  | Tue, 21, Apr, 2026

अघिल्लो वर्षभन्दा ११.३३ प्रतिशतले बढ्यो राजस्व सङ्कलन

Avatar photo दिशा निर्देश २ श्रावण २०८२, बिहीबार १०:२७ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्धवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व सङ्कलन भएको बताए । ‘तयारी सुरु गरिसकेका छौँ, चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ’, उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा १३ खर्ब १५‍ अर्ब राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

पछिल्लो दशकमा राजस्व संकलनको अवस्था

आर्थिक वर्ष २०७१–०७२ मा ४ खर्ब ५ अर्ब, २०७२–०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३–०७४ मा ६ खर्ब ९ अर्ब, २०७४–०७५ मा ७ खर्ब २६ अर्ब, २०७५–०७६ मा ८ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी २०७६–०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७–०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८–०७९ मा १० खर्ब ६६ अर्ब, २०७९–०८० मा ९ खर्ब ५७ अर्ब र २०८०–०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

 


सम्बन्धित खबरहरु