वीरगञ्ज, ३२ असार — वीरगञ्जस्थित नारायणी अस्पतालमा अब स्वास्थ्य बीमा गराएका सेवाग्राहीले सिधै उपचार पाउन सक्ने छैनन्। स्वास्थ्य बीमा बोर्डले अस्पताललाई ‘प्रथम सेवा बिन्दु’को सूचीबाट हटाउने निर्णय गरेपछि साउन १ गतेदेखि बीमितले उपचारअघि अनिवार्य रूपमा रेफर ल्याउनुपर्ने भएको छ।
बोर्डको नयाँ व्यवस्थाअनुसार अब नारायणी अस्पतालमा उपचार गराउन चाहने पर्साका बिमित सेवाग्राहीले पर्सा जिल्लाभित्रका चार स्थानबाट रेफर लिएर जानु पर्नेछ। ती सेवा बिन्दुहरूमा बगही प्राथमिक स्वास्थ्य केन्द्र (वीरगञ्ज–२८), पोखरिया अस्पताल, बागेश्वरी त्रितौना स्वास्थ्य केन्द्र (पर्सागढी–६) र भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र (धोबिनी–२) रहेका छन्।
नारायणी अस्पताल प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गर्दै बीमा बोर्डको निर्णय कार्यान्वयनमा आउने जानकारी गराएको हो। सूचनामा भनिएको छ, “२०७२ साउन १ गतेदेखि रेफर सिफारिस बिना नारायणी अस्पतालमा स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुने छैन।”
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले यो निर्णयले विशेष गरी वीरगञ्ज महानगरभित्रका बिमित सेवाग्राहीलाई सास्ती हुने बताए। उनका अनुसार, “शहरमै अवस्थित अस्पतालमा उपचार लिन ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाबाट रेफर लिएर आउनुपर्ने अवस्था सिर्जना हुनु अन्यायपूर्ण हो।”
डा. दासले बीमा बोर्डको निर्णय पुनर्विचार गराउन बुधबार नै पत्र पठाइएको जानकारी दिए। “नारायणी अस्पतालजस्तो सुविधा सम्पन्न सरकारी अस्पताललाई पहिलो सेवा बिन्दुबाट हटाउनु औचित्यहीन निर्णय हो,” उनले भने।
बीमा बोर्डको यो निर्णयको व्यापक आलोचना हुन थालेको छ। सेवाग्राहीहरूलाई अत्यावश्यक अवस्थामा रिफर प्रक्रियाबाट गुज्रिनुपर्ने बाध्यताले प्रभावकारी स्वास्थ्य सेवा पहुँचमा बाधा पर्ने चिन्ता व्यक्त गरिएको छ।
