वीरगञ्ज, ३० असार — अस्पताल भनेको जीवन जोगाउने ठाउँ हो। तर नारायणी अस्पतालमा न बिरामी सुरक्षित छन्, न त्यहाँको लापरवाही उजागर गर्न खोज्ने पत्रकार। शनिबार राति त्यही अस्पतालमा देखिएको बेवास्ता र दमनको घटनाले राज्यको स्वास्थ्य प्रणाली, नागरिक अधिकार र प्रेस स्वतन्त्रता तीनैवटामाथि गम्भीर प्रश्न उठाएको छ।
शनिबार राति सास फेर्न गाह्रो भएपछि वीरगञ्ज महानगरपालिका–१४, पिपराका २६ वर्षीय मनिष सिंह कुर्मीलाई परिवारले नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्यायो। तर उपचारको सट्टा उनले लापरवाही र अपमानको सामना गर्नुपर्यो।
चिकित्सकले औषधि सिफारिस गरेपछि उनका आफन्त अस्पतालकै फार्मेसीमा औषधि लिन पुगे, तर त्यहाँ कर्मचारी नभएको कारण झन्डै आधा घण्टा कुर्नुपर्यो।
जब औषधि ल्याइयो, नर्सले नसाबाट दिने तयारी गरिन्। तर मनिषले नसामा अत्यधिक पीडा भएको भन्दै क्यानुला लगाइदिन अनुरोध गरे। त्यसैबेला करेन्ट लागेका अर्का बिरामी आएपछि सम्पूर्ण स्टाफ त्यतै लागे र सास फेर्नै गाह्रो भएको बिरामी बेवास्तामा परे।
अन्ततः तालिममा रहेका एक विद्यार्थीले क्यानुला लगाएर औषधि दिए। गम्भीर अवस्थाका बिरामीलाई विद्यार्थीको जिम्मा लगाउनु कत्तिको उचित हो? अनुभवी स्वास्थ्यकर्मीहरू कहाँ थिए?
जब मनिषले उपचार नपाएको भन्दै गुनासो गरे, अस्पताल प्रशासनले उल्टै उनलाई ‘दुव्र्यवहार’को आरोपमा प्रहरी बोलाएर नियन्त्रणमा लिन लगायो। राति १२ बजे मात्र उनलाई आफन्तको जिम्मा लगाएर छाडियो।
“मैले केही ड्रिंक गरेको थिएँ, तर कसैलाई चोट पुर्याएको छैन,” मनिष भन्छन्, “पीडामा चिच्याउनु नै अपराध हो भने उपचार माग्न पाउनु पनि अपराध हो र?”
स्टाफ नर्स पूजा चौरसियाले भनिन्, “हातपात भएको छैन, अलिकति हल्ला भएको सुनेको मात्र हो।”
घटनाको जानकारी लिएर समाचार संकलन गर्न गएका पत्रकार आबिद हुसेनमाथि अस्पतालकै मेडिकल अफिसर डा. दीपक चौरसियाले हातपात गरेका छन्।
उनीसँग रहेको मोबाइल खोसिएको थियो, जुन पाँच घण्टा पछि मात्र फिर्ता गरिएको छ।
स्वास्थ्य संस्थाभित्र भएको घटनाबारे सार्वजनिक सूचना लिन खोज्दा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रता र नागरिकको जानकारी पाउने अधिकारमाथि खुला हमला हो।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले घटनाबारे तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति बनाइएको छ,” उनले भने, “त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ।
तर मूल प्रश्न यहीँ छ — गल्ती गर्ने को हो? बेवास्ता गर्ने कि प्रश्न उठाउने? यदि अस्पतालको लापरवाहीमा गुनासो गर्ने बिरामी नै अपराधी ठहरिन्छन्, र त्यसबारे खबर बनाउने पत्रकारमाथि हातपात हुन्छ भने, कसरी सुरक्षित होलान् नागरिक अधिकारहरू?
नारायणी अस्पतालमा भएको यो घटना कुनै एकदिनको ‘लापरवाही’ मात्र होइन। यो राज्यको स्वास्थ्य सेवा प्रणालीको असंवेदनशीलता, नागरिक स्वतन्त्रता माथिको खतरा र पत्रकारितामाथिको दमनको स्पष्ट संकेत हो।
यदि उपचारको माग गर्नु अपराध हो भने, र त्यो उजागर गर्नु अझै ठूलो ‘अपराध’ हो भने अब हाम्रो लोकतन्त्र कतातिर जाँदैछ?
