आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पतालको लापरवाही उजागर गर्न खोज्दा बिरामी नै थुनिएपछि उठेका गम्भीर प्रश्न

Avatar photo दिशा निर्देश ३० असार २०८२, सोमबार २०:०१ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज ३० असार —वीरगञ्ज महानगरपालिका–१४, पिपराका 26 वर्षीय मनिष सिंह कुर्मीलाई शनिबार राति ९:३० बजे सास फेर्न गाह्रो भएपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइयो। तर, जीवनरक्षा गर्न बनाइएको त्यो अस्पतालमा उनले उपचारभन्दा अपमानको अनुभूति गरे।

प्रारम्भिक जाँचपछि चिकित्सकले औषधि सिफारिस गरे। उनका आफन्त औषधि लिन अस्पतालकै फार्मेसीमा पुगे — तर त्यहाँ कर्मचारी नै नहुँदा झन्डै आधा घण्टा कुर्नुपर्‍यो।

औषधि ल्याइएपछि ड्युटीमा रहेकी स्टाफ नर्सले नसाबाट औषधि दिने तयारी गरिन्। तर बिरामी मनिषले पीडा महसुस गर्दै आग्रह गरे मलाई भेनमा धेरै पीडा हुन्छ, कृपया क्यानुला लगाइदिनुहोस्।

नर्स औषधि त्यहीँ राखेर अर्को करेन्ट लागेर आएका बिरामीतर्फ लागिन्। अन्य स्टाफ पनि सोही केसमा व्यस्त भए। सास फेर्नै गाह्रो भएको बिरामी मनिष भने बेवास्तामा परे।

अन्ततः अस्पतालमा तालिम गरिरहेका एक विद्यार्थीले उनलाई क्यानुला लगाएर औषधि दिए।

गम्भीर अवस्थाको जिम्मा विद्यार्थीलाई?

यहाँ गम्भीर प्रश्न उठ्छ ? यस्तो जटिल अवस्थामा विद्यार्थीलाई जिम्मेवारी सुम्पनु कत्तिको उचित हो? अनुभवी स्वास्थ्यकर्मीहरू कहाँ थिए?  के सरकारी अस्पतालको आकस्मिक कक्ष यति लापरवाह र अव्यवस्थित हुन सक्छ?

बोल्ने जसले, थुनिने ऊ नै? यही बेवास्ताविरुद्ध आवाज उठाएको आरोपमा मनिषलाई ‘दुव्र्यवहार’ गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो।

अनुसन्धानपछि उनलाई राति १२ बजे आफन्तको जिम्मा लगाएर छाडिएको थियो।

तर अस्पतालमा न उनले कराएका थिए, न हातपात गरेका  यसबारे अस्पतालका सीसीटीभी हेरे पुग्छ ।

हो, मैले केही ड्रिंक गरेको थिएँ,” मनिष भन्छन्, “तर मैले कसैलाई चोट पुर्‍याएको छैन। यदि म दोषी ठहरिन्छु भने कानुनी सजाय सहन्छु। तर पीडामा आवाज उठाउनु अपराध कसरी भयो?

स्वास्थ्य सेवा आलोचना गरेकै कारण थुन्ने?’मनिषसँगै अस्पताल पुगेका वीरगञ्ज–१५ निवासी बजरंगी पटेल भन्छन् हामीले अस्पतालको लापरवाही देखेर कुरा उठाएका थियौँ। तर सोधपुछ गर्नुको बदलामा बिरामीलाई नै थुन्ने आदेश आयो। के यस्तै हो न्याय?

घटनाबारे प्रतिक्रिया माग्दा ड्युटीमा रहेकी स्टाफ नर्स पूजा चौरसियाले भनिन् मलाई कुनै हातपात वा अभद्र व्यवहार भएको छैन। अलिकति हल्ला भएको सुनेको मात्र हो।

छानबिन समिति बनाइएको छ’ 

घटनापछि नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास भन्छन्

अहिल्यै कसैलाई दोषी भन्न सकिँदैन। घटनाबारे छानबिन समिति बनाइएको छ। तीन दिनभित्र समिति प्रतिवेदन बुझाउनेछ र त्यसको आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ।

तर मूल प्रश्न त्यहीँ छ: यदि गुनासो गर्ने बिरामी नै अपराधी ठहरिन्छ भने गल्ती गर्ने को हो? प्रश्न गर्ने कि बेवास्ता गर्ने?

यो घटना राज्यको स्वास्थ्य सेवा प्रणाली, नागरिक स्वतन्त्रता र मानवीय अधिकारमाथिको संवेदनशीलता कति कमजोर छ भन्ने कुराको स्पष्ट उदाहरण हो।


सम्बन्धित खबरहरु