आज:  | Tue, 21, Apr, 2026

नारायणी अस्पताललाई एक वर्षमा नमूना बनाउने लक्ष्य: मन्त्री पौडेल”

Avatar photo दिशा निर्देश ३० असार २०८२, सोमबार ०८:३१ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, असार ३० –स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जस्थित नारायणी अस्पताललाई आगामी एक वर्षभित्र देशकै नमूना सरकारी अस्पतालको रूपमा विकास गर्ने योजना सुनाएका छन्।

नारायणी अस्पतालमा स्तन क्यान्सर जाँच सेवा (म्यामोग्राम) र निःसन्तान दम्पतीका लागि बाँझोपन उपचार सेवा (आइयुआई युनिट) को उद्घाटन गर्दै उनले यो प्रतिबद्धता व्यक्त गरे।

“मधेस प्रदेशमा संघ सरकारको मातहतमा रहेको एउटै अस्पताल नारायणी हो,” मन्त्री पौडेलले भने, “यसको सेवा र संरचनालाई नमूना बनाउन मन्त्रालय गम्भीर भएर लागिरहेको छ।”

उनले स्वास्थ्यकर्मी, राजनीतिक दल र स्थानीय समुदायको संयुक्त सहयोग भएमा यो लक्ष्य प्राप्त गर्न कठिन नहुने विश्वास व्यक्त गरे। “यदि सबैले आफ्नो भूमिकामा इमानदार भएर साथ दिए, एक वर्षपछि यो अस्पताल देशकै उत्कृष्टमध्ये पर्छ,” मन्त्रीको भनाइ थियो।

‘कर्मचारी भर्तीको अड्डा नबनाउनू’

कार्यक्रममा मन्त्री पौडेलले अस्पतालका डाक्टर र कर्मचारीलाई स्पष्ट सन्देश पनि दिए।
“डाक्टरहरूले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म ड्युटीमा बस्नैपर्छ, सम्झौताहीन रूपमा,” उनले चेतावनी शैलीमा भने, “सरकारी अस्पतालको भरोसा कायम राख्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”

उनले अस्पताललाई कर्मचारी भर्तीको केन्द्र नबनाउन पनि निर्देशन दिए। “हामी सेवा प्रवाहमा केन्द्रित छौं, नियुक्ति वितरणमा होइन,” मन्त्रीको भनाइ थियो।

नारायणी अस्पतालमा अब मुटुका रोगका बिरामीलाई शल्यक्रिया सेवा पनि उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए।
“क्याथल्याब स्थापना अन्तिम चरणमा छ, चाँडै सेवा सुरु हुन्छ,” उनले भने।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल , कांग्रेसका नेता चन्द्रेशखर यादव, रामनारायण कुर्मी, महमद साहबुदिनलगायतको उपस्थिति थियो।


सम्बन्धित खबरहरु