आज:  | Tue, 21, Apr, 2026

मधेसमा मिर्गौला उपचार केन्द्र खोलिँदै, नारायणी अस्पतालमा दुई नयाँ सेवा सुरु

Avatar photo दिशा निर्देश ३० असार २०८२, सोमबार ०८:१६ मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज, असार ३० –मधेस प्रदेशमा मिर्गौला रोगीका लागि अब उपचारमा सहजता आउने संकेत देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मधेसमा विशिष्टीकृत मिर्गौला उपचार केन्द्र स्थापना गरिने घोषणा गरेका छन्।

आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षणका लागि म्यामोग्राम मेसिन र निःसन्तान दम्पतीका लागि आइयुआई युनिट सेवा सुरु गर्दै मन्त्री पौडेलले भने, “अहिले मिर्गौला डाइलाइसिस गराउनेको संख्या उच्च छ, विशेषगरी मधेस प्रदेशमा। त्यसैले हामी यहाँ विशिष्टीकृत उपचार केन्द्र स्थापना गर्न लागिरहेका छौँ।”

उनका अनुसार आगामी आर्थिक वर्षको बजेटमा यसको व्यवस्था भइसकेको छ, यद्यपि केन्द्र कुन जिल्लामा बनाउने भन्ने निर्णय भने अझै बाँकी छ। “रौतहट, सप्तरी वा अन्य कुनै जिल्ला— विकल्पहरूमा छलफल भइरहेको छ”, उनले स्पष्ट पारे।

मन्त्री पौडेलका अनुसार हाल देशभर १३ हजारभन्दा धेरै बिरामीले डाइलाइसिस सेवा लिइरहेका छन्। तीमध्ये करिब ८ हजार विदेशबाट फर्किएका नागरिक हुन् भने ४ हजारभन्दा धेरै मधेस प्रदेशका बासिन्दा छन्। “यो संख्या हेर्दा, उपचार सेवा स्थानीय तहमै विस्तार गर्नु आजको आवश्यकता हो,” मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले नारायणी अस्पतालमा हृदयसम्बन्धी जटिल उपचारका लागि आवश्यक क्याथल्याब सेवा पनि छिट्टै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। तर उनले थपे, “एउटा अस्पताल मन्त्री वा सुपरिटेन्डेन्टको भरमा मात्रै राम्रो बन्न सक्दैन। यो राजनीतिक दल, समाजसेवी, प्रशासन सबैको साझा अभियान बन्नुपर्छ।”

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार, अस्पतालले हालै नयाँ सेवाहरू थप गर्दै आएको छ। आइतबारदेखि सुरु भएको आइयुआई (Intrauterine Insemination) युनिटमार्फत निःसन्तान दम्पतीलाई निःशुल्क सेवा दिइने उनले जानकारी दिए।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल , कांग्रेसका नेता चन्द्रेशखर यादव, रामनारायण कुर्मी, महमद साहबुदिनलगायतको उपस्थिति  रहेकाे थियो।


सम्बन्धित खबरहरु