चितवन, असार २८ — चितवनको रत्ननगरमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार, चिकित्सालयबाट बहिरङ्ग सेवा (ओपीडी) मार्फत ४४,९७२ जनाले सेवा लिएका छन्। त्यस्तै, पञ्चकर्म तथा पूर्वकर्म सेवामार्फत ४१,४३९ पटक, अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लाभ लिएका छन्।
चिकित्सालय प्रमुख डा. कोपिला अधिकारीका अनुसार सेवा लिनेमा महिलाको सहभागिता पुरुषभन्दा बढी रहेको छ। उनले भनिन्, “महिलाहरू नियमित रूपमा आयुर्वेद सेवाको खोजीमा आउनुहुन्छ, जसले उनीहरूमा आयुर्वेदप्रतिको आकर्षण प्रस्ट देखाउँछ।”
डा. अधिकारीका अनुसार विभिन्न विशिष्ट सेवाहरूमा यस प्रकारको उपस्थिति देखिएको छ:स्तनपायी आमालाई: ८८१ , जेष्ठ नागरिकलाई: ६,८०७ ,योग सेवा: १,१३० ,प्याथोलोजी सेवा: ६,०१६ , नागरिक आरोग्य सेवा: ४,२७० , अकुपञ्चर सेवा: १,००७ फिजियोथेरापी सेवा: ८३२
चिकित्सालयअन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका आयुर्वेदिक औषधिहरू उत्पादन हुँदै आएका छन्, भने अन्य औषधिहरू सिंहदरबार वैद्यखानाबाट आपूर्ति गरिन्छ।
हाल अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधिहरू निःशुल्क वितरण गरिँदैछ, जसले नसर्ने रोगहरूमा उल्लेखनीय प्रभाव पारिरहेको अस्पतालको भनाइ छ।
त्यस्तै, ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि हरेक महिना “स्वर्णबिन्दु प्राशन कार्यक्रम” सञ्चालन गरिँदै आएको छ। यो परम्परागत आयुर्वेदिक औषधिले बालबालिकाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने विश्वास लिइन्छ।
शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालयहरू सञ्चालनमा छन्। भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रवाह भइरहेको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ।
कार्यक्रममा चिकित्सक डा. सुमन खनाल र डा. देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह भएपछि सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताए। उनीहरूले आयुर्वेदको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले संचारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पुर्याउन सके थप नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे। पत्रकारहरूले पनि कार्यक्रममा अस्पतालको सेवा, गुणस्तर तथा पहुँचबारे सुझाव र प्रतिक्रिया राखेका थिए।
