आज:  | Tue, 21, Apr, 2026

अमेरिकी पर्यटक भित्र्याउन न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको सक्रियता

Avatar photo दिशा निर्देश २८ असार २०८२, शनिबार १०:४० मा प्रकाशित (९ महिना अघि)

अमेरिका, असार २८ — नेपालमा अमेरिकी पर्यटकको सङ्ख्या बढाउने उद्देश्यसहित न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले स्थानीय पर्यटन व्यवसायीसँगको सहकार्य विस्तार गर्न सक्रियता देखाएको छ।

शुक्रबार न्यूयोर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा, महावाणिज्य दूतावासले अमेरिकन पर्यटन व्यवसायीहरूलाई नेपालप्रति आकर्षित गर्न आफ्नो सञ्जाल प्रयोग गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्ड र प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), न्यूयोर्क च्याप्टरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा महावाणिज्य दूत दधिराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै नेपाललाई हिमाल, कला–संस्कृति, प्राकृतिक सौन्दर्य, ऐतिहासिक विरासत, जंगल सफारी र आध्यात्मिक अनुभवको उत्कृष्ट गन्तव्यको रूपमा वर्णन गरे। उनले नेपाल हरेक मौसममा पर्यटकका लागि उपयुक्त रहेको बताए।

महावाणिज्य दूत भण्डारीले भने, “अमेरिकन पर्यटकहरू नेपालका लागि दोस्रो ठूलो आगमन स्रोत हुन्। उनीहरूको औसत बसाइँ अवधि लामो र खर्च उच्च हुने भएकाले अमेरिकी बजारमा हाम्रो सक्रियता बढाउनु अत्यन्त आवश्यक छ।”

उनका अनुसार अमेरिकी पर्यटकहरूले औसतमा प्रतिदिन १०० डलर खर्च गर्ने गरेका छन्, जुन अन्य देशका पर्यटकहरूको औसत खर्च (४० डलर) को तुलनामा झन्डै दोब्बर हो। यसले नेपालका स्थानीय पर्यटन व्यवसायमा उल्लेख्य आर्थिक योगदान पुर्‍याउने उनले स्पष्ट पारे।

नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२४ को मे महिनामा ९,०७४ जना र जुन महिनामा ९,६९६ जना अमेरिकी पर्यटक नेपाल आएका थिए। यो तथ्याङ्कले अमेरिकन बजारमा अझ बढी सम्भावना रहेको संकेत गर्छ।

कार्यक्रममा न्यूयोर्क क्षेत्रका पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले नेपालका पर्यटन उत्पादनबारे थप जानकारी लिएर आगामी दिनमा भ्रमण प्याकेज विकास र प्रवर्द्धनमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।


सम्बन्धित खबरहरु