आज:  | Tue, 21, Apr, 2026

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, शुक्रबारदेखि पसल खुल्ने

Avatar photo दिशा निर्देश २७ असार २०८२, शुक्रबार ०९:२१ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं, २७ असार – सुनचाँदी व्यवसायीहरूले बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आफ्नो आन्दोलन स्थगित गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार विरोधका कार्यक्रम स्थगित गरिएकाले अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसल नियमित रूपमा खुल्नेछन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो। उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर गर्ने भन्दै व्यवसायीहरू महिनौँदेखि आन्दोलनमा थिए। आन्दोलनका क्रममा उनीहरूले सुनचाँदी पसल बन्द गरेकाले सुनचाँदीको दैनिक मूल्य समेत तोकिने गरेको थिएन।

बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधनका लागि कार्यदल गठन गर्ने सहमति भएको हो। उक्त कार्यदलले विलासिता करको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाका सन्दर्भमा अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्नेछ।

महासंघका अनुसार कार्यदलले प्रतिवेदन नपेस नहुञ्जेलसम्म बजेटमा प्रस्ताव गरिएको नयाँ कर र भ्याट लागू नहुने सहमति समेत भएको छ। यद्यपि, सहमति पत्रमा उक्त कुरा स्पष्ट रूपमा उल्लेख भने गरिएको छैन।

कार्यदलको सचिवालय अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारलगायतले हस्ताक्षर गरेका छन्।

वार्तामा पूर्वमन्त्री छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्माको पनि सहभागिता थियो।


सम्बन्धित खबरहरु