आज:  | Tue, 21, Apr, 2026

जीतपुरसिमरा उपमहानगरको २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक

Avatar photo दिशा निर्देश २६ असार २०८२, बिहीबार १८:४४ मा प्रकाशित (९ महिना अघि)

बारा — जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष सुरु हुन एक साता बाँकी रहँदा उपमहानगरले समावेशी विकास, पूर्वाधार विस्तार, तथा जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै ढिलो गरी बजेट सार्वजनिक गरेको हो।

कार्यपालिका सदस्यहरूबिच बजेट बाँडफाँटमा सहमति भएपछि नियमित समयभन्दा डेढ महिना ढिलोगरी बुधबार उपमहानगरले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले समावेशी विकास, पूर्वाधार विस्तार र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताए । उनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्तरिक राजस्व (बैंक मौज्दातसहित) ४७ करोड ४० लाखको आय अनुमान गरिएको छ ।संघीय सरकार र प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ५६ करोड ८१ लाख ७७ हजार, विशेष अनुदानतर्फ १ करोड ९३ लाख र समपूरक अनुदानतर्फ ६ करोड १२ लाख आय अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँट, मालपोत रजिष्ट्रेसन, विज्ञापन कर र नदीजन्य पदार्थको ठेक्काबापत ५२ करोड ७४ लाख आय हुने अनुमान गरिएको छ ।

संघीय र प्रदेश सरकारको समानीकरणबाट कुल आम्दानी ३२ करोड ५० लाख र अन्य राजस्व, बेरुजुतर्फ ५० लाखको आय अनुमान गरिएको उपप्रमुख अधिकारीले बजेट वक्तव्यमार्फत जनाएका छन् । चालु आर्थिक वर्षको असार अन्तिम सातासम्म जम्मा २० करोड राजस्व सङ्कलन गरेको उपमहानगरले आगामी आर्थिक वर्ष ५२ करोड ७४ लाख राजस्व उठ्ने अनुमान गरेको छ ।

बजेट बाँडफाँटको विषयमा कार्यपालिका सदस्यहरूबिच सहमति नहुँदा असार ९ मा नगरसभा स्थगित भएको थियो । बुधबार नगरसभामा नगरप्रमुख राजन पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।

उपमहानगर अन्तर्गत रहेका २४ वटा वडालाई जनसंख्या र भूगोलका आधारमा न्यूनतम ५० लाखदेखि १ करोड १२ लाख रुपैयाँ बजेट दिने सहमति भएको छ । साथै वडाहरूमा नगरस्तरको योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

उपमहानगरले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि १ करोड ५० लाख विनियोजन गरेको छ भने छात्रवृत्तिका लागि ४० लाख छुट्ट्याएको छ । स्वास्थ्य क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि योजनामार्फत प्रविधियुक्त अभ्यास, बिउ–बिजन, तालिम, अनुदान तथा सिँचाइ पूर्वाधारमा जोड दिइएको छ । खेलकुद पूर्वाधार विकास र अमलेखगञ्ज पर्यटन प्रवर्द्धनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

पछाडि परेका समुदायहरूमा सिप विकास, स्वरोजगार तथा अनुदान कार्यक्रम सञ्चालन गरिने, लुमन्ती आवास कार्यक्रमका लागि १ करोड, गौरवका पूर्वाधार निर्माण (खानेपानी र सडक सुधार) मा ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वैकल्पिक ऊर्जा, वनजंगल संरक्षण र विपद् व्यवस्थापनका लागि छुट्टै कार्यक्रम अघि सारिएको छ । उपमहानगरले आगामी वर्षका लागि राजस्व वृद्धि गर्न व्यवसाय दर्ता अभियान, कर मिनाहा र प्रोत्साहन लगायतका योजना अगाडि सारेको छ ।


सम्बन्धित खबरहरु