आज:  | Sun, 19, Apr, 2026

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ८ जटिल रोगमा २ लाख रुपैयाँसम्म उपचार सहायता

Avatar photo दिशा निर्देश २५ असार २०८२, बुधबार १०:५२ मा प्रकाशित (९ महिना अघि)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आठ जटिल रोगका बिरामीलाई दिइने उपचार सहायता दोब्बर बनाउने घोषणा गरेका छन्। अबदेखि ती बिरामीहरूले एक लाखको सट्टा दुई लाख रुपैयाँसम्म उपचार सहायता पाउने भएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री पौडेलले आफ्नो अघिल्लो प्रतिबद्धताअनुसार उपचार सहायतामा वृद्धि गरिएको उल्लेख गरेका हुन्। उनका अनुसार आगामी साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ।

स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजमअल्जाइमर का बिरामीले २ लाख रुपैयाँसम्म उपचार सहायता पाउनेछन्।

बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मंगलबार राति बसेको बोर्ड बैठकले निर्णय गरेअनुसार दुई लाखसम्मको बीमा सुविधा साउन १ गतेबाट कार्यान्वयनमा आउने जानकारी दिए।

मन्त्री पौडेलले स्वास्थ्य बीमाको पहुँच र प्रभावकारिता बढाउन बीमाका सदस्यले आफू बसेकै ठाउँबाट सेवा लिन मिल्ने व्यवस्था समेत लागू गरिसकेका छन्। अब हरेक तहका अस्पतालबाट सेवा लिन सहज हुने नीति अनुसार बीमा सुविधा विस्तार हुँदैछ।

स्वास्थ्य बीमा ऐनमा उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको प्रावधानअनुसार अब सार्वजनिक तथा संगठित क्षेत्रका सबै कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने निर्णय भएको छ। यसले बीमा कोषको आम्दानी वृद्धि र दीगो सञ्चालनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारीमा गएकाहरू र उनीहरूका परिवारलाई समेत बीमामा आबद्ध गराउनेबारे मन्त्रालयले सम्बन्धित निकायहरूसँग पत्राचार गरिसकेको छ।

नयाँ बजेटमार्फत सरकार स्वास्थ्य बीमा बोर्डको बक्यौता शून्यमा झार्ने तयारीमा छ। साथै, संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत बीमा कोषमा जाने व्यवस्था र प्रगतिशील कर प्रणालीमार्फत कोषमा थप स्रोत थप्ने योजना पनि अघि सारिएको छ।


सम्बन्धित खबरहरु