काठमाडौं । लगातारको अविरल वर्षासँगै देशका विभिन्न भेगमा आएको बाढी तथा पहिरोका कारण प्रमुख राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म १० वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, नवलपरासीको दाउन्ने क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार खुर्साने खोलानजिक मंगलबार राति पहिरो खसेपछि पूर्वतर्फ बर्दघाटबाट जाने र पश्चिमतर्फ दुम्कीबासबाट आउने सवारी साधनहरु सडकमै रोकिएका छन्।
यसैगरी, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, म्याग्दीको दरवाङ सडक, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिम हुँदै डोल्पा जोड्ने जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
यता बनेपा–नाला–भक्तपुर खण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मी क्षेत्रको सडकखण्ड तथा रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।
प्रहरीका अनुसार निरन्तर वर्षा कायमै रहेकाले पहिरो हटाउने कार्यमा समेत चुनौती थपिएको छ। यातायात व्यवस्था कार्यालय तथा सडक डिभिजन कार्यालयहरूबाट सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।
