वीरगञ्ज – नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा सार्वजनिक गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल पर्साले घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रमको आयोजना गरेको थियो।
संघका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका थिए। कार्यक्रममा बोल्दै नन्दु श्रीवास्तवले चलचित्रले समाजको यथार्थ चित्रण गर्ने बताए। उनले नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा लामो अनुभवको आधारमा नेपाली चलचित्र उद्योग पछिल्लो समय प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत सुधारतर्फ अघि बढिरहेको बताए।
चलचित्र निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ ले समाजको कथा बोल्ने अपेक्षा व्यक्त गर्दै व्यवसायिक सफलताको शुभकामना दिए। विगतमा प्रचारप्रसारमा भोगेको कठिनाइ उल्लेख गर्दै अहिले चलचित्र पत्रकार संघको सहयोगले प्रचारकार्य सहज बनेको बताए। चलचित्रको नामले नै दर्शकमा उत्सुकता जगाएको प्रतिक्रिया पनि उनले दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्तले मधेशमा नेपाली चलचित्र चल्दैन भन्ने धारणा पूर्ण बहादुरको ‘सारङ्गी’ चलचित्रले गलत साबित गरिसकेको उल्लेख गरे।
नेकपा (माओवादी केन्द्र) का युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रको चर्चा र प्रदर्शन बढिरहेको बताए। भोजपुरी र हिन्दी चलचित्रको प्रभाव रहेको क्षेत्रमा नेपाली फिल्मप्रति दर्शकको रुचि र जिज्ञासा बढेको उनको भनाइ थियो।
चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शन हुने जानकारी गराए।
चलचित्रका निर्देशक हिमाल न्यौपाने हुन् भने निर्माता कमल न्यौपाने र बिमल न्यौपाने रहेका छन्। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी लगायत कलाकारको अभिनय रहनेछ। यसै दिन देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको हो।
