आज:  | Tue, 21, Apr, 2026

बजेट विवाद चुलिएपछि मधेश प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

Avatar photo दिशा निर्देश १२ असार २०८२, बिहीबार २०:१२ मा प्रकाशित (९ महिना अघि)

वीरगञ्ज, १२ असार — मधेश प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेटप्रति चर्किंदो असन्तुष्टिपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

प्रदेश सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलको निर्देशनमा प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गर्ने निर्णय गरेको हो। बजेटमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले उठाएको आपत्ति र असन्तुष्टिका कारण बैठक सञ्चालनमा अवरोध आउने देखिएपछि यस्तो निर्णय लिइएको हो।

जनमत पार्टीका सांसदहरूले बजेटमा आफूहरूले सिफारिस गरेका दीर्घकालीन तथा विकासमुखी योजनाहरू हटाइएको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनीहरूले बजेटमा योजनाहरू ‘तलमाथि’ पारिएको र सत्ताको नजिक रहेका व्यक्तिहरूको प्रभावमा वितरण गरिएको आरोप लगाएका छन्।

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले पनि सामाजिक सञ्जालमार्फत बजेटप्रति सार्वजनिक असन्तोष व्यक्त गरेका छन्। उनले बजेटमा ‘बिचौलियाका योजनाहरूलाई प्राथमिकता दिइएको’ भन्दै गुनासो गरेका छन्।

डा. राउतले लेखेका छन्, “संघीयताको उपलब्धि भनेकै प्रदेश अस्पताल वा रंगशालाजस्ता ठूला पूर्वाधार हुन्। तर दुर्भाग्यवश, मधेश प्रदेशको रेडबुक अहिले पनि ५–१० लाखका टुक्रे योजनाले भरिएको छ।” उनका अनुसार जनताको आवश्यकता बुझेर सिफारिस गरिएका योजनाहरूलाई हटाइएको छ र केही थोरै समावेश गरिएकामा पनि नाम मात्रको बजेट छुट्याइएको छ।

सरकारमा नेतृत्व सम्हालिरहेको जनमत पार्टीको मुख्यमन्त्री सतिशकुमार सिंह स्वयं आफ्नै दलका सांसदहरू र अध्यक्ष राउतको आक्रोशपछि सक्रिय भएका छन्। उनले सभामुखसँग सल्लाह गरी बैठक स्थगन गर्न आग्रह गरेका थिए।

सूत्रका अनुसार बजेट वितरणमा अर्थमन्त्री सुनीलकुमार यादवले आफ्नो गृह जिल्ला रौतहट र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले महोत्तरी जिल्लामा बढी योजना केन्द्रित गरेको आरोप लागेको छ।

यसबीच जनमत पार्टी संसदीय दलको बैठक बसेको छ र बजेटप्रति स्पष्ट रणनीति तय गर्ने तयारीमा जुटिरहेको बुझिएको छ।

बजेटमा देखिएको गम्भीर असहमति र असन्तुष्टिले मधेश प्रदेश सरकारभित्र राजनीतिक खटपट चर्कने सम्भावना बलियो बनेको छ।


सम्बन्धित खबरहरु